काठमाडौ । सार्क विकास कोष (एसडीएफ) ले सेभ द चिल्ड्रेनसँगको सहकार्यमा नेपाल र भुटानमा ‘गुणस्तरीय समावेशी प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षाको लागि साझेदारी’ नामक क्षेत्रीय परियोजनाको सुरुवात गरेको छ ।
सार्क सचिवालय, काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमबीच सो परियोजनाको औपचारिकरूपमा सुरुवात गरिएको हो । सार्क विकास कोष र सेभ द चिल्ड्रेनको संयुक्त लगानी रहेको यस तीन वर्षे परियोजनाको कुल लागत चार दशमलव ७९ मिलियन अमेरिकी डलर रहेको छ । परियोजनाले नेपाल र भुटानका सरकार, स्थानीय समुदाय, शिक्षक, प्रारम्भिक बाल विकास तथा आधारभूत शिक्षा सहजकर्ता र तीनदेखि १२ वर्ष उमेर समूहका बालबालिकासँग सहकार्य गर्दै गुणस्तरीय, समावेशी प्रारम्भिक बाल विकास र आधारभूत शिक्षाको प्रवद्र्धन गर्नेछ । सार्कका महासचिव मोहम्मद गोलाम सर्वारले परियोजनाले भुटान र नेपालको शिक्षामा समान पहुँचको प्रवर्द्धन र मानव विकासमार्फत सार्कको गरिबी निवारण कार्य योजनामा पनि योगदान पुर्याउने बताए । परियोजनाले समुदायस्तरमा साझा चुनौती सामना गरिरहेको र उस्तै मनोभावना बोकेका अन्य सार्क सदस्य राष्ट्रहरूमा पनि यस्तै किसिमका पहलहरू सुरु गर्न प्ररित गर्ने उल्लेख गरे ।
नेपालमा परियोजना मधेश प्रदेशमा कार्यान्वयन गरिनेछ, जहाँ प्रारम्भिक बाल विकासका सूचकहरू अत्यन्त कमजोर छन् । हालै गरिएको एक अध्ययनले पूर्वाधार, सिकाइ सामग्री, हेरचाहकर्तामा चेतना, र अपांगता समावेशितामा गहिरो खाडल रहेको देखाएको छ । विशेष गरी महोत्तरी र सर्लाही जिल्लामा ५३ प्रतिशतभन्दा बढी जनसंख्या निरक्षर छन् । सेभ द चिल्ड्रेन नेपाल र भुटानकी राष्ट्रिय निर्देशक तारा क्षेत्रीले सार्क विकास कोष र सेभ द चिल्ड्रेनबीचको यस सहकार्यले समावेशी शिक्षाको साझा नमुनाहरूको विकास गर्दै शिक्षक र सरोकारवालाहरूको सीपमा सुधार र व्यवहारमा परिवर्तन ल्याउने लक्ष्य राखेको बताइन् ।
परियोजना क्रियाकलापहरू समावेशी प्रारम्भिक बाल शिक्षा सुधारमा केन्द्रित रहनेछन् । यसअन्तर्गत कक्षाकोठा निर्माण तथा जीर्णोद्वार, सुरक्षित एवं पहुँचयोग्य सिकाइ वातावरण निर्माणको लागि खानेपानी, सरसफाइ र स्वच्छता पूर्वाधारहरूको स्तरोन्नति, घरायसी पुस्तकालयको माध्यमबाट घरमै प्रारम्भिक साक्षरता प्रवर्द्धन गर्न उमेर–उपयुक्त समावेशी शैक्षिक सामग्रीहरूको व्यवस्था समावेश छन् । साथै, शिक्षक तथा अभिभावक तालिम, अपांगता पहिचान परीक्षण र अपांगता भएका बालबालिकाका लागि सहायक उपकरणहरूको व्यवस्था पनि गरिनेछ ।