काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अब मोबाइल एपबाट नै ओपीडी टिकट काट्न सकिने सुविद्या विस्तार गरेको छ ।
प्रतिष्ठानले उपचारका लागि आउने बिरामीहरूको सुविधालाई ध्यानमा राखी ओपीडी टिकट दर्ता गर्न तथा ल्याब रिपोर्ट हेर्न यहाँ सञ्चालनमा रहेको मोबाइल एपको नयाँ संस्करण सार्वजनिक गरेको हो । यस मोबाइल एपमार्फत सेवाग्राहीहरूले घरमै बसेर जेनेरल ओपीडी टिकट दर्ता (स्वास्थ्य बीमा, विपन्न नागरिक तथा अन्य के्रडिटमा हुने ओपीडी टिकट दर्ताबाहेक) गर्दा एपमा लगइन गरी आफूले देखाउन चाहेको ओपीडी चयन गरी भुक्तानीको प्रक्रियापश्चात् दर्ता भइसकेको जानकारीका साथै टोकन नम्बर प्राप्त गर्न सक्नेछन् । सो टोकन नम्बरको आधारमा अस्पतालको सम्बन्धित ओपीडीमा गएर ओपीडी टिकट तथा चिकित्सकलाई देखाउने टोकन प्राप्त गर्न सक्ने प्रतिष्ठानका सह–प्रवक्ता डा अभिजीत कुमारले जानकारी दिए ।
साथै, सो मोबाइल एपका माध्यमबाट ल्याबको रिपोर्ट पनि सहजरुपमा हेर्न र डाउनलोड गर्न सकिनेछ । मोबाइल एप गुथल प्ले–स्टोरबाट डाउनलोड गर्न सकिने छ भने एपमा दिइएको क्युआर कोडलाई आप्mनो मोबाइलको क्यामरा वा स्क्यानरको माध्यमबाट स्क्यान गरेर समेत डाउनलोड गर्न सकिन्छ । ओपीडी टिकट वापतको शुल्क आएमई पे र खल्ती नामका पेमेन्ट गेटवेका माध्यमबाट भुक्तानी गर्न सकिने छ । हाललाई यो सुविधा एन्ड्रोइड भर्सनका मोबाइलहरूमा मात्र उपलब्ध रहेको प्रतिष्ठानले जनाएको छ । उक्त सेवाको सञ्चालनपश्चात् ओपीडी टिकट काट्न तथा ल्याब रिपोर्ट लिनका लागि सेवाग्राहीले घटौं लाइनमा बस्नुपर्ने झञ्झटबाट राहत मिल्ने तथा समयको बचत हुने जनाइएको छ ।
होम बेस्ड हस्पाइ केयर सेवाको प्रारम्भ
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले क्यान्सरका सिकिस्त विरामीहरूलाई लक्षित गरीे होम बेस्ड हस्पाई केयर सेवाको प्रारम्भ प्रारम्भ गरेको छ । यस सेवाअन्तर्गत अस्पताल आउन कठिन पर्ने किसिमका क्यान्सरका सिकिस्त बिरामीहरूलाई आवश्यक पर्ने नियमित या आकस्मिक उपचार सेवाहरू प्रतिष्ठानको स्वास्थ्यकर्मीहरूको टोलीले घरैमा गएर दिने व्यवस्था मिलाइएको छ ।
यस प्रकारको सेवाले क्यान्सरका कारण कमजोर भई घरमा थलिएर बसेको समयमा, दुखाइको पिडाले असह्य भएर छटपटाइ रहेको समयमा उपचारका लागि अस्पताल आउनुपर्ने कठिन परिस्थितीको सामना गर्नुपरेका विरामी तथा आफन्तजनका लागि ठूलो राहत दिने विश्वास लिइएको छ । यस प्रकारको सेवा काठमाडौं उपत्यकाबाहिर यो नै पहिलो रहेको छ । यो सेवा लिन चाहने इच्छुक बिरामी वा तिनका आफन्तहरूले प्रतिष्ठानको आन्तरिक औषधी विभागअन्तर्गतको ओन्कोलोजी युनिटसँग समन्वय गरी सेवा लिन सकिने छ । उक्त सेवाबापत प्रतिष्ठानले हाललाई प्रति भिजिट एक हजार पाँच सय शुल्क निर्धारण गरेको छ भने विपन्न बिरामीको हकमा भने प्रतिष्ठानले विपन्न बिरामीलाई प्रदान गर्ने नियमानुसारको निःशुल्क सेवा दिने व्यवस्था गरिने छ । प्रारम्भिक चरणमा हाललाई यो सेवा धरान उपमहानगरपालिकाभित्र मात्र प्रदान गरिने जनाइएको छ ।
विद्यार्थीहरूका लागि शारीरिक तथा मानसिक स्वास्थ्य कल्याण एकाइ गठन बिरामी उपचार सेवा विस्तारबाहेक प्रतिष्ठानले शैक्षिक क्षेत्रमा समेत सेवा सुविधा थप गरेको छ । यहाँ अध्ययनरत विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यको सर्वोपरी हितलाई मध्यनजर गर्दै प्रतिष्ठानका निमित्त उपकुलपति तथा शिक्षाध्यक्ष प्राडा सञ्जीव कुमार शर्माले ‘शारीरिक तथा मानसिक स्वास्थ्य कल्याण एकाइ’ गठन गरेका हुन् ।
मानसिक रोग विभागकी एडिसनल प्रोफेसर डा रिंकु कुमारी गौतमको अध्यक्षतामा गठित उक्त इकाईले विद्यार्थीहरूको स्वास्थ्य प्रवद्र्धनका निम्ति, विद्यार्थीहरूमा शारीरिक तन्दुरुस्ती, उचित पोषण तथा मानसिक स्वास्थ्य जस्ता विषयमा जागरुकता बढाउने किसिमका कार्यहरू गर्नेछ । यसै सिलसिलामा विद्यार्थीहरूलाई विभिन्न इन्डोर–आउटडोर खेलकुद तथा व्यायामशालाको व्यवस्था गरिएको छ भने न्यूनतम शुल्क लिएर भाडामा साइकल उपलब्ध गराउने योजना समेत रहेको छ । त्यसका साथै, विद्यार्थीहरूका लागि छुट्टै योगा कक्षा तथा ध्यान केन्द्र समेत सञ्चालनमा ल्याइएको छ ।
त्यसैगरी, विद्यार्थीहरूको मानसिक स्वास्थ्यको हकमा, शैक्षिक, व्यक्तिगत वा अन्य विभिन्न चुनौतीहरूको सामना गरिरहेका विद्यार्थीहरूका लागि आवश्यक पर्नसक्ने मानसिक स्वास्थ्य परामर्श सेवाहरू सहजरुपमा प्राप्त गर्न सकिने व्यवस्था गरिने छ भने विद्यार्थीहरूका लागि छुट्टै ओपीडी सेवाको समेत व्यवस्था गरिने छ । विद्यार्थीहरूमा आकस्मिक रुपमा मानसिक स्वास्थ्य समस्या देखिएमा दू्रतरुपमा उपचार सेवा वा परामर्शका लागि हेल्पलाइन फोन नम्बरको पनि व्यवस्था गरिएको छ ।