काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले दिगो भविष्यका लागि वातावरणीय, सामाजिक र सुशासन (ईएसजी) अपरिहार्य भएको बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघले शुक्रबार काठमाडौंमा आयोजना गरेको इएसजी कार्यशालामा उनले इएसजी अब ट्रेन्डमात्र नभई व्यवसायको दिगो भविष्य तर्फको अनिवार्य बाटो भएको बताए । उनले नेपालजस्ता उदीयमान अर्थतन्त्रका लागि यो नयाँ अवसरको ढोका खोल्ने माध्यम भएको समेत उल्लेख गरे । ‘वर्तमान समयमा इएसजी मापदण्डप्रतिको सचेततना महत्वपूर्ण बन्दै गएको छ । इएसजी जोखिम व्यवस्थापनका लगि अपरिहार्य छ’, उनले भने, ‘नेपालमा सुरु भएको यो परियोजनाले नेपाली व्यवसायहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार तयार पार्न सहयोग पुर्याउनेछ ।’
महासंघले हालसम्म छुट्टाछुट्टै ढंगले वातावरणीय स्थायित्व, सामाजिक पहल तथा सुशासनको क्षेत्रमा काम गरिरहेको भए पनि अब यो ढाँचामार्फत् ती सबै पहलहरूलाई एकीकृत गर्ने दिशामा अगाडि बढ्ने योजना बनाएको अध्यक्ष ढकालले जानकारी दिए । नेपाल राष्ट्र बैंकले अपनाएको पर्यावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन निर्देशिकालाई पनि महासंघले सकारात्मकरूपमा लिएको उल्लेख गर्दै अध्यक्ष ढकालले ३० भन्दा बढी कानुनमा सरकारले गरेको संशोधनले स्वदेशी तथा विदेशी लगानी प्रवद्र्धन हुने अपेक्षा गरिएको बताए ।
कार्यशालामा सहभागीलाई सर्भेक्षणमार्फत ईएसजीसम्बन्धी आवश्यक तालिम र क्षमता विकासका कार्यक्रमहरू पहिचान गरिने जानकारी दिइएको थियो । महासंघले यसलगत्तै कोशी प्रदेशमा पनि इएसजी कार्यशाला आयोजना भएको छ । सरोकारवालाहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, नीति निर्माताहरू तथा अन्तर्राष्ट्रिय साझेदारहरूको सहभागिता रहेको कार्यशालामा वातावरण, समाज र सुशासनसम्बन्धी विषयहरूलाई समग्ररूपमा एकीकृत गर्नुपर्नेमा जोड दिइएको थियो ।