तेहरान । इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकको उद्धारका लागि पहल गर्ने जनाएको छ । नेपाल र श्रीलंका सरकारको अनुरोधमा उक्त प्रयास गरिने दूतावासले जनाएको हो ।
‘नेपाल र श्रीलंका सरकारको अनुरोधमा इरानस्थित भारतीय दूतावासले नेपाल र श्रीलंकाका नागरिकलाई पनि उद्धार गर्नेछ’, इरानस्थित भारतीय दूतावासले लेखेको छ ।
इरान र इजरायलबीच जारी द्वन्द्वका कारण बिग्रँदो अवस्थालाई मध्यनजर गर्दै भारत सरकारले इरानबाट भारतीय नागरिकलाई उद्धार गर्न ‘अपरेसन सिन्धु’ सुरु गरेको छ ।
भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालका अनुसार ‘अपरेसन सिन्धु’अन्तर्गत अहिलेसम्म पाँच सय १७ जना भारतीय नागरिक इरानबाट स्वदेश फर्केका छन् । जयसवालका अनुसार इरानबाट भारतीयहरूलाई लिएर एक विशेष विमान जुन २१ मा तुर्कमेनिस्तानको अश्गाबातबाट नयाँ दिल्ली आइपुगेको थियो ।
एक्समा जयसवालले लेखेका छन्, ‘अपरेसन सिन्धु जारी छ । तुर्कमेनिस्तानको अश्गाबातबाट एक विशेष उद्धार उडान जुन २१ को बिहान ३ बजे नयाँ दिल्लीमा अवतरण गरेको थियो । हालसम्म इरानबाट पाँच सय १७ जना भारतीय नागरिक ‘अपरेसन सिन्धु’अन्तर्गत स्वदेश फर्किएका छन् ।’ इजरायल र इरानबीचको द्वन्द्व शनिबार नवौँ दिनमा प्रवेश गरेको छ । गत जुन १३ मा इजरायलले इरानी सैन्य र आणविक स्थलहरूमा ‘अपरेसन राइजिङ लायन’ नामक विशाल हवाई आक्रमण गरेपछि द्वन्द्व सुरु भएको थियो ।