नवलपुर । नवलपुरको विनयी खोलाको बाढी र दाउन्नेमा बाटो चिप्लो भएका कारण नारायणघाट–बुटबल सडक खण्डअन्तर्गत दाउन्नेको सडक बन्द भएको छ । सडक बन्दहुँदा ६ दिनदेखि मालवाहक सवारी साधन सडकमै रोकिएका छन् । ट्रकका चालक राजेश विकले काठमाडौँबाट मालवाहक सामान लिएर नेपालगञ्ज जाँदै गर्दा बाटो बन्द भएर ६ दिनदेखि सडकमै गाडी रोकेर बस्नु परेको बाध्यता सुनाए । जङ्गलको बिचमा तीन दिनसम्म गाडीमै सुत्दा चर्को गर्मीका कारण सुत्नै नसकिएको चालकको गुनासो छ ।
पाँच छ दिनदेखि गाडीहरु सडकमै ‘होल्ड’ गरेर राखेको जानकारी दिंदै जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख, प्रहरी निरीक्षक जनक बन्जराले लामो समयदेखि जाममा रहेका केही गाडीहरु जहाँबाट आएको हो उतै फर्किेए भने, केही अझै सडकमै रहेको जानकारी दिए । खान बस्न सजिलो होस् भनेर जङ्गलमा रहेका गाडीहरुलाई बजार क्षेत्रमा लगेर होल्ड गरेको उनले बताए ।
दुम्किवासको विनयी खोलामा ८ पटकसम्म बगाउपछि अब डाइभर्सन निर्माण नगरिने भएको छ भने दाउन्नेको सडक मर्मत गर्नका लागि गाडी आवतजावतमा प्रतिबन्ध लगाइएको छ । पश्चिमबाट पूर्वतर्फ हिँडेका सवारी दाउन्नेको पहाडमा रोकिएका छन् भने पूर्वबाट पश्चिमतर्फ जाँदै गरेका सवारी साधन विनयी खोलाका कारण रोकिएका छन् ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले गत पुस २६ गते दुम्किवासस्थित विनयी खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिँदै आएकोमा खोलामा आउने बाढीले बगाउन थालेपछि अब डाइभर्सन निर्माण नगरिने बताए । विनयी खोलामा डाइभर्सनबाट जाँदै गरेको बस नै गत बिहीबार राति खोलाले बगाएको थियो ।