काठमाडौं । गैर–बैंकिङ सम्पत्तिको व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको छ । पछिल्लो समय बैंकिङ प्रणालीमा गैर–बैंकिङ सम्पत्ति लगातार बढ्दै गएको र धितो बिक्री नभएपछि बैंकहरूलाई यसको व्यवस्थापनमा समस्या पर्दै गएको हो ।
राष्ट्र बैंकले पछिल्लोपटक सार्वजनिक गरेको बैंकहरूको समग्र निक्षेप कर्जासम्बन्धी प्रतिवेदनअनुसार चालू आर्थिक वर्षको १० महिना (२०८१ साउन¬–२०८२ वैशाख)सम्म सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरूको कुल गैर–बैंकिङ सम्पत्ति बढेर ३८ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ अर्ब ७४ करोड १० लाख रुपैयाँले बढी हो । २०८१ वैशाख मसान्तमा बैंकहरूको यस्तो सम्पत्ति २३ अर्ब ७४ करोड ५० लाख रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्ष (आव)को वैशाख मसान्तसम्म नेपाल बैंकमा २० करोड ४१ लाख १० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ छ । गत आवको सोही अवधिमा १५ करोड ५४ लाख ५० हजार रुपैयाँ बराबर थियो । यस्तै, राष्ट्रिय वाणिज्य बैंकमा ३१ करोड ९९ लाख ५० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति देखिएको छ । जुन एक वर्षअघिको तुलनामा १२ अर्ब रुपैयाँभन्दा धेरै हो । २०८१ वैशाख मसान्तमा राष्ट्रिय वाणिज्य बैंकको गैर–बैंकिङ सम्पत्ति १८ करोड ७७ लाख ९० हजार रुपैयाँ थियो ।
नबिल बैंकमा २०८२ वैशाख मसान्तमा तीन अर्ब ७९ करोड ३८ लाख ८० हजार रुपैयाँ गैर–बैंकिङ सम्पत्ति कायम छ । जुन एक वर्षअघि एक अर्ब ६४ करोड ५६ लाख ४० हजार रुपैयाँ थियो । पछिल्लो अवधिमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंकमा पनि गैर–बैंकिङ सम्पत्ति बढेर तीन अर्ब ११ करोड ६१ लाख १० हजार रुपैैयाँ पुगेको छ । जुन एक वर्षअघि दुई अर्ब २९ करोड ९२ लाख ६० हजार रुपैयाँ थियो । स्टान्डर्ड चार्टर्ड बैंकको गैर–बैंकिङ सम्पत्ति दुई आर्थिक वर्षयता शून्य छ ।
राष्ट्र बैंकका अनुसार हिमालयन, नेपाल एसबीआई र एभरेस्ट बैंकमा २०८२ वैशाख मसान्तमा गैर–बैंकिङ सम्पत्ति क्रमशः पाँच अर्ब १२ करोड ९५ लाख ४० हजार, ८९ करोड ७६ लाख ४० हजार र ६२ करोड ३९ लाख ९० हजार रुपैयाँ कायम छ । जुन २०८१ वैशाख मसान्तमा क्रमशः एक अर्ब ४५ करोड १२ लाख ३० हजार, सात करोड ६५ लाख ५० हजार र २८ करोड ९८ लाख रुपैयाँ थियो ।
एनआईसी एसिया, माछापुच्छ्रे र कुमारी बैंकमा गत वैशाख मसान्तसम्म गैर–बैंकिङ सम्पत्ति क्रमशः चार अर्ब ६० करोड आठ लाख, ९६ करोड ७९ लाख ४० हजार र दुई अर्ब ५५ करोड ९१ लाख रुपैयाँ छ । एक वर्षअघि यी बैंकहरूमा क्रमशः चार अर्ब १४ करोड ९२ लाख ८० हजार, एक अर्ब ४५ करोड सात लाख ६० हजार र एक अर्ब ८८ करोड दुई लाख ४० हजार रुपैयाँ गैर–बैंकिङ सम्पत्ति थियो ।
लक्ष्मी सनराइज, सिद्धार्थ र कृषि विकास बैंकमा पनि पछिल्लो अवधिमा गैर–बैंकिङ सम्पत्ति क्रमशः एक अर्ब ७८ करोड २४ लाख ४० हजार, ७२ करोड ४७ लाख ४० हजार र एक अर्ब एक करोड ४५ लाख २० हजार रुपैयाँ कायम छ । जुन एक वर्षअघि क्रमशः एक अर्ब ३४ करोड २९ लाख २० हजार, ६९ करोड ५१ लाख र २५ करोड १८ लाख रुपैयाँ थियो ।
यसैगरी ग्लोबल आइएमई, सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम कमर्सियल बैंकमा गत वैशाख मसान्तसम्म क्रमशः पाँच अर्ब ९५ करोड ८३ लाख ८० हजार, एक अर्ब दुई करोड ८९ लाख २० हजार र दुई अर्ब ३६ करोड ९९ लाख ३० हजार रुपैयाँ बराबरको गैर–बैंकिङ सम्पत्ति कायम छ । २०८१ वैशाख मसान्तमा यी बैंकहरूमा यस्तो सम्पत्ति क्रमशः तीन अर्ब २६ करोड ११ लाख ४० हजार, ५२ करोड ८२ लाख ९० हजार र दुई अर्ब २२ करोड दुई लाख ७० हजार रुपैयाँ थियो ।
एनएमबी, प्रभु र सानिमा बैंकमा पनि गत वैशाखसम्म गैर–बैंकिङ सम्पत्ति क्रमशः एक अर्ब २५ करोड ५१ लाख ६० हजार, एक अर्ब २६ करोड १६ लाख १० हजार र ८७ करोड ७४ लाख २० हजार रुपैयाँ बराबर कायम भएको छ । जुन २०८१ वैशाख मसान्तमा क्रमशः ७७ करोड ८१ लाख ६० हजार, ६७ करोड २८ लाख १० हजार र ४० करोड १८ लाख २० हजार रुपैयाँ बराबर थियो ।