दोलखा । जिल्लाको जिरी नगरपालिका–७ कलङका किरण बहादुर खड्का हिजोआज किबी कृषकरूपमा चिनिन्न थालेका छन् । करिब सात वर्ष विदेशी माटोमा पसिना बगाएर गाउँ फर्केका खड्का अहिले जिल्लाकै उदाहरणीय किबी कृषकको रूपमा चिनिन थालेका हुन् ।
२०७० सालअघि खड्का रोजगारीको सिलसिलामा साउदी, मलेसियालगायतका खाडी देश पुगेका थिए । विदेशको चर्को घाममा मेहनत र पसिना बगाएका उनले सोचेजस्तो आम्दानी गर्न नसकेपछि स्वदेश फर्केर आफ्नै भिरालो बाँझो पाखोबारीमा किबी खेती गर्न थाले । उनले सुरुमा गोदावरी पुगेर २२ बोट किबीको बिरुवा ल्याएर रोपेको सुनाए । त्यो समय दोलखामा खासै किबी खेती सुरु भएको थिएन । त्यसमा पनि जिरीमा आफूले पहिलोपटक किबी रोपेको उनको भनाइ छ । किबी रोपेको दुई वर्षको अन्तरमै फल्न थालेपछि खड्काले किबी खेतीलाई आम्दानीको स्रोत बनाउने उदेश्य राखेर त्यसपछि पाँच सय बोट किबी थपेर खेती विस्तार गरे । हाल उनले २५ रोपनी जग्गामा किबी बगैँचा विस्तार गरेका छन् ।
उनले किबी बिक्रीबाट वार्षिक खर्च कटाएर सात लाख आम्दानी गर्ने गरेको सुनाए । उनको कलङ नमुना किबी तथा कृषि फार्म दर्ता गरेका छन् । उनले उत्पादन गरेको धेरैजसो किबी तराईका सहरहरू बर्दिवासदेखि जनकपुरमा जाने गरेको छ । साथै, उनलाई अहिले सरकारी निकायले समेत अनुदान दिने गरेको छ । किबी खेती विस्तार गर्न ११ वर्षको अवधिमा झण्डै ४० लाख लगानी गरेको उनले सुनाए । चालू वर्ष २०८१÷८२ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछापले किसान खड्काले उत्पादन गरेको किबी भण्डारणका लागि पूर्वाधार समेत निर्माण गरिदिएको छ । सात टन क्षमताको प्रविधिमा आधारित किबी भण्डारण पूर्वाधार निर्माण गरिएको परियोजना कार्यान्वयन इकाई रामेछापका कार्यालय प्रमुख थिरलाल गैरेले बताए ।
उक्त चिस्यान केन्द्र अफसिजनमा पनि सुरक्षित किबी भण्डारण गरेर राख्न सकियोस् भन्ने उद्देश्यले निर्माण गरिएको हो । कार्यालयको १० लाख तथा कृषक खड्काको तीन लाख ५० हजार गरी १३ लाख पचास हजार रुपैयाँ लागतमा सो चिस्यान केन्द्र निर्माण भएको हो । सो केन्द्रको कृषक खड्काले प्रयोग गर्न सुरु गरेका छन् । नवनिर्मित चिस्यान केन्द्रमा एक पटकमा सात हजार केजी किबी भण्डारण गर्न सकिने छ । किबीको लागि मन्सिर, पुष र माघ तीन महिना चिस्यान केन्द्र आवश्यक पर्ने गर्दछ ।