काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पत्ति शुद्धीकरणविरूद्ध नीति, रणनीति, प्रणाली र मापदण्ड तयार गरी कार्यान्वयन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बीमा प्राधिकरणद्वारा बीमकका एएमएल÷सीएफटी कार्यान्वयन अधिकारीहरूसँग आज काठमाडौंमा आयोजित दक्षता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरणविरूद्ध प्राधिकरणले जारी गरेका निर्देशिका र निर्देशनहरूबमोजिम आन्तरिक नीति तथा रणनीति तयार एवं परिमार्जन गरी कार्यान्वयन गर्न निर्देशन दिए ।
अध्यक्ष ओझाले भने, ‘बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण हुन नदिन रोकथामका उपायहरूलाई बलियो बनाउनुपर्छ, प्रतिबद्ध भएर लाग्नुपर्छ, बीमा, लघुबीमा र पुनर्बीमाका जोखिम फरक–फरक हुन सक्छन्, जोखिमको सही मूल्याङ्कन गर्नुपर्छ, ठीक हो होइन निक्र्यौल गर्नुपर्छ, त्रुटि पत्ता लगाएर रोक्नुपर्छ, जोखिम विश्लेषणको दक्षता अभिवृद्धि गर्नुपर्छ ।’
बीमा गर्ने व्यक्तिको आम्दानीको स्रोत ठीक हो÷होइन, बीमा गर्न वित्तीय क्षमता राख्छ/राख्दैन भन्ने कुरा बीमा कम्पनीले पहिले नै निक्र्यौल गर्नुपर्ने उल्लेख गर्दैै अध्यक्ष ओझाले भने, ‘बीमा कम्पनीहरूको वित्तीय जोखिमाङ्कनमा समस्या छ, वित्तीय जोखिमाङ्कनलाई बलियो बनाउनुपर्छ, बीमा गर्ने व्यक्तिको आर्थिक स्रोत ठीक हो कि होइन, वित्तीय क्षमता राख्छ कि राख्दैन, बीमा गरेको सम्पत्ति वैध हो या होइनलगायत सबै विषयमा जोखिमाङ्कनकै क्रममा हेर्नुपर्छ, अवैध रकम आउने बाटो बन्द गर्नुपर्छ, यसो गर्न सकेमा हामी सुरक्षित हुन्छौँ ।’
सम्पत्ति शुद्धीकरणविरूद्धको कार्य राज्यको प्राथमिकता भएको र राज्यको प्राथमिकता प्राधिकरणको पनि प्राथमिकता भएकाले सोहीअनुरूप बीमा क्षेत्रमा पनि सम्पत्ति शुद्धीकरणविरूद्ध एकजुट भएर काम गर्नुपर्छ भन्दै अध्यक्ष ओझाले सम्पत्ति शुद्धीकरणको विषयलाई लिएर कारबाहीको अवस्था आउन नदिने गरी कानुनबमोजिम संरचनामा सुधार गरी रोकथामका उपायहरू अवलम्बन गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिए ।
नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणविरूद्ध बीमकहरूलाई सबल बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताए । वित्तीय जानकारी एकाइका प्रमुख वासुदेव भट्टराईले बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरण निवारणका लागि बीमा कम्पनीहरूले विषयगत जोखिमका आधारमा जोखिमका क्षेत्र पहिचान गरी नियन्त्रण संयन्त्रलाई प्रभावकारी बनाउनुपर्ने बताए ।
कार्यक्रममा जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघु जीवन बीमा कम्पनी, लघु निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीका एएमएल÷सीएफटी कार्यान्वयन अधिकारीहरूको सहभागिता थियो ।