काठमाडौं । नेपाल पर्यटन बोर्डले बंगलादेशका पर्यटकका लागि नेपाल भ्रमण गरी जीवनभरको सम्झनासहित फर्किन आग्रह गरेको छ ।
नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहकार्यमा राजधानी ढाकामा आयोजना गरेको ‘नेपाल–बङ्गलादेश पर्यटन भेटघाट’ कार्यक्रममा बोर्डका निमित्त निर्देशक रोहिणीप्रसाद खनालले बङ्गलादेशी नागरिकलाई नेपाल भ्रमण गरेर नेपाल महसुस गर्न र जीवनभरका सम्झनासहित फर्किन आग्रह गरेका हुन् । निमित्त निर्देशक खनालले नेपालका विविध पर्यटकीय उत्पादन र गतिविधिहरूको बारेमा जानकारी गराएका थिए । उनले ट्रेकिङ, पर्वतारोहण, प्याराग्लाइडिङ, बन्जीजम्पिङजस्ता साहसिक गतिविधिदेखि अध्यात्मिक विश्राम, वेलनेस टुरिज्म तथा मेडिकल टुरिज्मजस्ता नयाँ सम्भावनाहरूबारे विस्तृत जानकारी दिए ।
बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले बङ्गलादेशी पर्यटकहरूका लागि नेपाल एक आकर्षक गन्तव्य बन्दै गएको उल्लेख गरे । नेपालले प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, साहसिक पर्यटन अवसरहरू र आतिथ्य संस्कृतिको अद्भूत संयोजन प्रदान गर्ने बताउँदै राजदूत भण्डारीले पर्यटन र जनस्तरको सम्बन्धलाई दुई देशबीचको मित्रताको उत्कृष्ट प्रतिविम्बको रूपमा उल्लेख गरे । साथै, उनले दुई देशका पर्यटन व्यवसायीहरूबीच बीटुबी सम्बन्ध अझ प्रगाढ बनाउन आह्वान गरेका थिए ।
बङ्गलादेशको नागरिक उड्डयन तथा पर्यटन मन्त्रालयका संयुक्त सचिव एकेएम मोनिरुज्जामानले दुई देशबीचको पर्यटन सहकार्यलाई अझ सुदृढ बनाउन संयुक्त पर्यटन प्याकेज विकासको आवश्यकता औँल्याए । नेपाल र बङ्गलादेशलाई परस्पर परिपूरक गन्तव्यको रूपमा प्रस्तुत गर्न सकिने सम्भावनाबारे समेत उनले जोड दिएका थिए । कार्यक्रममा बङ्गलादेशी आरोही इक्मारुल हसन शाकिलले हालै १३७२ किलोमिटरको ‘सी टु समिट’ यात्रा सम्पन्न गरी २०२५ मे १९ मा सगरमाथा आरोहण गरेको अनुभव सुनाएकी थिइन् । कार्यक्रममा बङ्गलादेश ट्राभल एजेन्ट संघका अध्यक्ष अब्दुस सलाम अरेफ तथा एसियन टुरिज्म फेयरका अध्यक्ष मोहिउद्दीन हेलालले पनि सम्बोधन गरेका थिए ।
कार्यक्रममा नेपाली लोकसांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । साथै, सहभागी पर्यटन व्यवसायीहरूको सहयोगमा राफल ड्र पनि गरिएको थियो, जसअन्तर्गत हिमालय एयरलाइन्स र विमान बङ्गलादेश एयरलाइन्सको प्रायोजनमा ढाका–काठमाडौं राउन्ड ट्रिप हवाई टिकट र नेपाली ट्राभल एजेन्सीहरुबाट प्रायोजित विशेष छुट प्याकेजहरू प्रदान गरिएको छ । कार्यक्रमपूर्व दुई देशका ट्राभल तथा टुर कम्पनीहरूबीच बीटुबी सत्र र नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो । नेपालबाट गएको प्रतिनिधिमण्डलमा नेपाल पर्यटन बोर्डका अधिकारीहरूसहित १३ वटा पर्यटन व्यवसायी कम्पनीका प्रतिनिधिहरू सहभागी थिए ।