काठमाडौँ । प्रतिनिधिसभाको सोमबारको बैठक सुरू भएको छ । भिजिट भिसा प्रकरणबारे उच्चस्तरीय छानबिन समिति गठन र गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्ष दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध जारी राखेका छन् । यी दुवै दलहरूले सोमबारको बैठक बहिष्कार गरेका छन् ।
सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिव नेपालीले भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीबारे छानबिनको माग गर्दा संसद्मा प्रतिपक्ष दलहरूको आवाज दबाउने काम भइरहेको आरोप लगाए । रास्वपाले आज पनि उच्चस्तरीय संसदीय छानबिन समिति वा न्यायिक आयोग गठनको माग दोहोर्याएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयकमाथिको छलफलको क्रममा उठेको प्रश्नको विभिन्न विषयगत मन्त्रालयका मन्त्रीले जवाफ र स्पष्टीकरण दिने कार्यसूची रहेको छ । राससका अनुसार विनियोजन विधेयक, २०८२ अन्तर्गत वन तथा वातावरण, सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ, रक्षा, कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य तथा जनसङ्ख्या, कानुन, न्याय तथा संसदीय मामिला र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनको आगामी आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै, युवा तथा खेलकुद, भौतिक पूर्वाधार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, उद्योग, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, शिक्षा, विज्ञान तथा प्रविधि, परराष्ट्र, श्रम, गृह र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीहरूले जवाफ दिनेछन् ।