काठमाडौं । सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा गुन्डा नाइके भनेर चिनिएका काभ्रेपलाञ्चोकका कांग्रेस नेता गणेश लामालाई सफाइ दिएको छ । विशेष अदालतले दोषी ठहर गरेको मुद्दा उल्ट्याउँदै सोमबार न्यायाधीशहरू कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले लामालाई सफाइ दिएको हो ।
२०७५ साउन २४ गते लामा विशेष अदालतबाट सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका थिए । त्यतिबेला उनलाई एक वर्ष कैद, बिगो बराबरको सम्पत्ति जफत गरी त्यति नै जरिबाना हुने फैसला भएको थियो ।
विशेष अदालतका तत्कालीन अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको सम्पत्तिमध्ये एक करोड ४० लाख ५० हजार रुपैयाँ अवैध रहेको ठहर गरेको थियो । उक्त सजायविरूद्ध लामाले २०७५ कात्तिक ९ गते लामाले सर्वोच्चमा नेपाल सरकारलाई विपक्षी बनाएर पुनरावेदन दिएका थिए । सरकारले पनि लामाविरूद्ध पुस ९ मा पुनरावेदन दिएको थियो ।
लामालाई सफाइ दिँदै सर्वोच्चले सरकारी वकिलको पुनरावेदन जिकिर दाबी नपुग्ने ठहर गरेको छ । सर्वोच्चको वेबसाइटमा भने लामा पक्ष रहेको मुद्दामा ‘उल्टी’ उल्लेख गरेको छ भने सरकार पक्ष रहेको मुद्दामा ‘पुनरावेदन जिकिर नपुग्ने’ उल्लेख छ ।
सम्पत्ति शुद्धीकरण विभागले लामाविरूद्ध २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो । लामा हाल नेपाली काँग्रेसका केन्द्रीय कार्यसमिति सदस्य समेत हुन् ।