काठमाडौं । इरानले मध्यपूर्वका विभिन्न देशमा रहेको अमेरिकी सैन्य आधार शिविरमा हमला गरेपछि मध्यपूर्वमा चलिरहेको युद्ध झन् चर्किएको छ । सोमबार राति इरानले कतार, इराक, सिरियालगायत देशमा रहेका अमेरिकी सैैन्य आधार शिविरमा आक्रमण गरेको थियो । सो आक्रमणबाट कति क्षति भयो भन्ने बारेमा विस्तृत विवरण नआइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
केही दिनअघि आफ्नो आणविक भट्टीलाई लक्षित गरी अमेरिकाले आक्रमण गरेपछि त्यसको बदलामा इरानले सोमबार मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविरमा आक्रमण गरेको हो । इरानले अल उदेइद एयर बेसमा रहेको अमेरिकी शिविरमाथि आक्रमण गरेको र कतारको राजधानी दोहामा ठूलो विस्फोट र आगलागीको दृश्य देखिएको कतारी सञ्चारमाध्यम अलजजीराले जनाएको छ ।
इरानले कतारमा रहेको अमेरिकी आधार शिविरमा सात वटा मिसाइल आक्रमण गरेको छ । आक्रमण भएलगत्तै कतारले आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो । अल–उदेइद हवाई अड्डा मध्यपूर्वमा रहेको सबैभन्दा ठूलो अमेरिकी सैन्य अड्डा हो । यसमा लगभग आठदेखि १० हजार अमेरिकी सैनिकहरू छन् ।
त्यस्तै, इरानले छिमेकी मुलुक इराकमा रहेको अमेरिकी सैन्य अड्डामा पनि आक्रमण गरेको छ । इराकमा भने एउटा मात्रै क्षेप्यास्त्र प्रहार गरेको खबर छ । सोमबार नै सिरियाको हासामा प्रान्तमा रहेको अमेरिकी सैन्य अड्डामा पनि आक्रमण भएको छ । तर यसमा भने इरानले नै आक्रमण गरेको हो वा इरानका सहयोगी सैन्य संगठनहरूले आक्रमण गरेका हुन् भन्ने यकिन नभइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
तनावमा नेपाली कामदारहरू
कतारमा रहेको अमेरिकी सैन्य अड्डामा भएको आक्रमणपछि त्यहाँ रहेका नेपालीहरूमा पनि तनाव थपिएको छ । करिब चार लाख नेपाली काम गर्ने कतार समेत इजरायल र इरान युद्धको बीचमा मुछिएपछि कामका लागि गएका नेपालीहरू तनावमा परेका हुन् ।
सोमबार राति आर्थिक दैनिकसँगको सम्पर्कमा आएका नेपालीहरूले कतारमा थप आक्रमण होला भन्ने त्रासमा आफूहरू रहेको बताए । इरानद्वारा आक्रमण भएको अल–उदेइद हवाई अड्डा नजिकै कार्यरत रहेकी झापाकी अंकिता तिमल्सिनाले सो क्षेत्रमा रहेका नेपालीहरू त्रासमा रहेको बताइन् । उनले सो क्षेत्रमा ठूलो विस्फोटको आवाज आएपछि आफूहरू त्रासमा रहेको बताइन् ।
त्यस्तै, आक्रमण भएको सैन्य शिविरबाट करिब दुई किलोमिटरको दूरीमा कार्यरत खोटाङका अइन्द्र राईले सोमबार राति ठूलो विस्फोटको आवाजसँगै नेपालीहरू त्रासमा रहेको बताए । उनले आफूहरू सुरक्षित स्थानमा रहेको भन्दै अहिलेसम्म सो क्षेत्रमा कुनै थप जोखिम नभएको बताए । यद्यपि आफूहरू त्रासमा भने रहेको उनको भनाइ छ ।
तेलको मूल्य बढ्ने सम्भावना
मध्यपूूर्वमा पछिल्लो समय बढ्दो तनावका कारण अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढ्ने सम्भावना बढेको छ । इरानको संसद्ले अमेरिकी हवाई आक्रमणको प्रतिक्रियामा होर्मुजको जलडमरूम बन्द गर्ने प्रस्ताव पारित गरेसँगै तेलको मूल्य बढ्ने सम्भावना भएको हो । यो मार्ग बन्द भयो भने विश्वभर पेट्रोल र डिजेलको मूल्यलाई असर गर्न सक्छ । किनभने यो तेल व्यापारको लागि एक महत्वपूर्ण मार्ग हो । होर्मुज जलडमरू एक साँघुरो समुद्री मार्ग हो, जसले फारसी खाडीलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ । यो केवल ३३ किलोमिटर चौडा छ । यो मार्गबाट विश्वभर खपत हुनेमध्ये २५ प्रतिशत कच्चा तेल र २५ प्रतिशत प्राकृतिक ग्यास ढुवानी हुने गरेको छ ।
साउदी अरेबिया, इराक, कुवेत, कतारजस्ता देशका तेल ट्याङ्करहरू यस मार्गबाट विश्वका अन्य भागहरूमा पुग्छन् ।
भारतले पनि आफ्नो आयातको ४० प्रतिशत तेल यही मार्गबाट ढुवानी गर्दै आएको छ । यदि यो मार्ग इरानले बन्द ग¥यो भने भारत, नेपाल, भुटानलगायतका देशमा तेलको आपूर्तिमा समस्या आउन सक्छ ।
रुसी राष्ट्रपतिसँग इरानी विदेशमन्त्रीको भेट
इजरायलसँगको युद्धका बीच इरानका सर्वोच्च नेता अली खामेनीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग सहयोग मागेका छन् । इरानका विदेशमन्त्री अब्बास अराक्ची सोमबार पुटिनलाई भेट्न मस्को पुगेका थिए ।
यसैबीच, इजरायली सेनाले सोमबार तेहरानमा रहेको इरानी सेनाको एकाइ इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्ससँग सम्बन्धित अड्डाहरूमा आक्रमण गरेको थियो । इजरायलले यी आक्रमणहरूमा सयौं सैनिक मारिएको दाबी गरेको छ ।
सुरक्षित रहन नेपाली दूतावासको आग्रह
इरानले कतारमा रहेको अमेरिकी सैन्य अड्डामा हमला गरेपछि त्यहाँ रहेको नेपाली दूतावासले सबै नेपालीलाई सुरक्षित रहन भन्दै सूचना जारी गरेको छ । सोमबार राति दूतावासले एक सूचना जारी गर्दै हमलापछि उत्पन्न परिस्थितिका बीच आफ्ना नागरिकलाई सतर्क रहन भनेको हो ।
जारी सूचनामा भनिएको छ ‘वर्तमान परिस्थितिलाई मध्यनजर गर्दै कतारमा रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई सतर्क रहन र यथास्थानमै रहन आग्रह गर्दछौ्रं ।’ जारी सूचनामा ‘शान्तिपूर्ण रहन र कतार सरकारको आधिकारिक सूचना र निर्देशन पालना गर्न अनुरोध’ गरिएको छ । ‘नेपाली राजदूतावास, दोहा कतारमा रहनु भएका सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूका सदैव साथमा रहेको व्यहोरा समेत अवगत गराउन चाहन्छौं’, सूचनामा भनिएको छ ।