काठमाडौं । सन्तोषनारायण श्रेष्ठ धितोपत्र बोर्डको प्रमुख नियुक्त भएपछि यसमा भद्रगोल सुरु भएको छ । पछिल्लोपटक उनले आफ्नो भएभरको शक्ति लगाएर आफूले गरेका गलत क्रियाकलापविरुद्ध समाचार लेख्ने मिडियालाई अदालतबाटै ठेगान लगाउने कोसिस गरे । अदालतले बिजमान्डु डटकम र नेपालखबर डटकमलाई संविधानको अक्षर, मर्म र भावनाविपरीत लेखिएका समाचार डिलिट गर्न आदेश दियो । तर मिडिया क्षेत्र र नागरिक समाजका तर्फबाट उक्त आदेशको चर्को आलोचना भएपछि एकछिनका लागि ...को न्यानोजस्तो मात्र हुन पुग्यो । अदालतले नै उक्त आदेश सच्यायो र समाचार हटाउन नपर्ने अर्को आदेश दियो । त्यसपछि सन्तोषनारायण अलिक खिस्रिक्क परेका छन् ।
सरकारले उनलाई अत्यन्त मेधावी उम्मेदवार ठानेर अनेक छलछाम र बहानाबाजी गरेर उपयुक्त उम्मेदवारलाई पन्छाएर धितोपत्रमा नियुक्ति दिएको थियो । उनको नियुक्तिलाई अदालतले गाँठो फुकाइदिन परेको थियो । सत्ताको नेतृत्व गरेको एमालेको कोटामा उनको नियुक्ति भएको भए पनि पछि उनको नाम काँग्रेसको कोटामा सरुवा भएको थियो । नियुक्ति अर्थमन्त्री विष्णु पौडेलको जोडबलमा भए पनि अहिले उनी काँग्रेसी कोटामा छन् । उनको नियुक्ति हुनुअघि अरू प्रतिस्पर्धी कस्ता छन् सुन्नै चाहिएन । उनको पारिवारिक पृष्ठभूमि सबैलाई थाहा छ, तर त्यसलाई योग्यता बनाइयो । उनको सरसंगत हेर्नै चाहिएन, त्यसलाई सौभाग्य ठानियो । उनको सर्टिफिकेट मात्र हेरियो र अरू उनका कमजोर पक्षलाई बहादुरी ठानियो । उनका बाबु चोपनारायण श्रेष्ठ ट्याङ्कर व्यवसायी हुन् । स्याङ्जाका श्रेष्ठ यसअघि भलवारी डिपो तेल चोरी काण्डमा पक्राउ परेर डामिएका व्यक्ति हुन् । सन्तोषनारायणलाई धितोपत्र बोर्डमा लैजान मरिहत्ते गरेर लागेका व्यक्ति कुख्यात बिचौलिया दीपक भट्ट हुन् । उनी चतुर्भुजप्रसाद भट्टका छोरा हुन् । दीपकका बाबु चतुर्भुज पनि कृषि सामग्री संस्थामा कार्यरत रहँदा रासायनिक मल खरिद काण्डमा परेर डामिएका व्यक्ति हुन् र बाबु डामिँदा छोरा दीपक भट्ट पनि सँगै डामिएका थिए । ती भट्ट अहिले सत्ताको बिचौलिया बनेका छन् । उनी निकट सत्ताधारीहरूमध्ये अर्थमन्त्री पौडेल पनि एक हुन् । उनीहरू आफ्नो फाइदाका लागि कसलाई कहाँ लैजाने, कहाँ कस्तो निर्णय गर्नुपर्नेे हो सत्ताबाट त्यही गराउने गर्छन् । त्यसको छ्याकन सत्ताधारीहरूलाई चटाउने गर्छन् । त्यसका लागि भट्टलाई दुई जना पूर्वभारतीय नागरिकहरूले सहयोग गर्ने गरेका छन् । ती नवनागरिकहरूले भट्टलाई सबै पार्टीका प्रभावशाली भनिएका लोभी नेताहरूको चुलोचौकादेखि बेडरुमसम्म नचाएका छन् । पूर्वराजा ज्ञानेन्द्रको एउटा कम्पनीसँग जोडिएका भट्ट अहिले राज्यमा हरेक क्षेत्रमा पहुँच पु¥याएको बिचौलिया मानिन्छन् । तिनै बिचौलिया भट्टसँग पारिवारिक सम्बन्ध गाँसका सन्तोषनारायण श्रेष्ठलाई रमेश हमाल हटेपछि त्यहाँ ल्याउन भट्टले नै भूमिका खेलेका थिए । पारिवारिक पृष्ठभूमि र छवि हेरिएको भए उनी आउने थिएनन् र अर्कै योग्य व्यक्ति धितोपत्रमा आउने थिए । तर योग्य व्यक्तिहरू अहिले पनि खुम्चिएर बस्न बाध्य भएका छन् । अयोग्य र भ्रष्ट मनोवृत्तिका श्रेष्ठचाहिँ सुरुमै हाइड्रोपावरको आईपीओ अनुमतिको प्रसंगमा कमिसन मागेको काण्डमा फसेका छन् । कुलमानले गरेको कुकर्मलाई पाँचखत माफ गरेजस्तै अख्तियारले सन्तोषको उक्त काण्डलाई पनि अहिलेसम्म छानबिनको लागि आवश्यक देखेको छैन ।
सत्तामा रहेका भ्रष्टाचारीहरूले मिडियालाई आफ्नो दुस्मन ठान्छन् । मिडिया नभइदिए भ्रष्टाचारको साम्राज्य खडा गरिन्थ्यो भन्ने ठान्छन् र त्यस्ता भ्रष्टाचारीहरूले बिचौलियामार्फत नै अदालतलाई दुरुपयोग गर्न खोज्छन् । सन्तोषनारायणले अहिले गर्न खोजेको पनि त्यही हो । भ्रष्टाचार गर्न चाहनेका लागि नेपालको राजनीतिक इतिहासमा अहिलेको समयलाई सुनौलो समय मानिछ । निष्ठावान र नैतिकवान राजनीतिक नेतृत्व हट्दै गएको र लफंगा राज बढ्दै गएकाले अहिले जुन जोगी आए पनि कानै चिरेको भनेजस्तो छ । जो नेता आए पनि पैसाका लागि चल्ने मात्र छन् । आदर्श, सिद्धान्त, निष्ठा, नैतिकता अब उनीहरूको शब्दकोषमा भेटिँदैन । केही समयअघिसम्म न्यायाधीशको एकाघरका वकिल पनि भए एउटा घरमा बस्ने चनल थिएन । राजनीतिमा लागेको वकिल भए उसलाई न्यायाधीश बनाइदैनथ्यो । तर अहिले त्यस्तो छेकबार छैन । अब हुनेवाला प्रधानन्यायाधीश सपना प्रधान मल्ल नेकपा एमालेकी तत्कालीन सभासद् हुन् । उनको लुकाउनुपर्ने कुरै केही छैन । उनी हुनेवाला प्रधानन्यायाधीश हुन् । उनका छोरा पनि वकिल छन् ।
सन्तोषनारायणले मिडियाविरुद्ध हालेको मुद्दा सपनाका छोराले नै हेरेका थिए । अदालतले समाचार डिलिट गर्न आदेश नदिउन्जेलसम्म सन्तोषले धितोपत्र छाडेर सपनापुत्रकै ल फर्ममा आफ्नो अड्डा जमाएका थिए । यहाँनेर उक्त फैसलामा कुनै चलखेल र सम्बन्ध छ कि छैन यसै भन्न सकिँदैन । तर इमानदारिता र नैतिकता पक्कै पनि जोडिन्छ । भावी प्रधानन्यायाधीश मल्लले आफ्ना बारेमा आफैँ जतिसुकै बखान गरे पनि त्यसको कुनै अर्थ हुँदैन । यस्ता कुरामा ध्यान नदिने हो भने तासको महलजस्तो हुन सक्छ । सन्तोषनारायणलाई च्याप्दा विष्णु पौडेल तानिन्छन्, त्यसमा बिचौलिया दीपक भट्ट जोडिन्छन्, त्यो सँगसँगै कुकर्म जोडिन्छ, अनि कसरी स्थापित हुन्छ सुशासन ?
सन्तोषनारायण रहँदासम्म अब धितोपत्र बोर्डमा सुशासनको कल्पना गर्नु व्यर्थ छ । उनले अब प्रेसप्रतिको धारणा बदल्छन् भन्ठान्नु पनि मुख्र्याइ मात्र हुने छ । उनी देश बनाउन, सुशासन कायम गर्न आएका होइनन् भन्नेमा त अब भ्रम हुनु नपर्ने हो । यस्तो सेटिङ मास्टरबाट काहीँ राम्रो काम हुन्छ भन्ने आस गर्न सकिन्छ ? यस्ता कुपात्रले जो मिल्यो त्यसलाई हात चटाउँछ, जसले चाटेन त्यसलाई सेटिङ मिलाएर दुःख दिन्छ । अहिले बिजमान्डु र नेपालखबरको पक्षमा सिंगो प्रेस जगत नउठेको भए सत्ताधारीहरू ठिक्क भयो भनेर ङिच्च दाँत देखाएर हाँसेर बस्थे । स्वतन्त्र प्रेस इन्तु न चिन्तु अवस्थामा पुग्ने थियो ।
एउटा बिचौलियाको स्वार्थमा सन्तोषनारायणलाई जबर्जस्तीरूपमा धितोपत्र बोर्डमा स्थापित गराएर स्वार्थ अनुकूल परिणाम निकाल्न खोज्दा इप्पानबाट भएको विद्रोह विस्तारै सबै क्षेत्रमा सर्दै गएको छ र भद्रगोल अवस्था सिर्जना भएको छ । इप्पान, प्रेस हुँदै अदालत पुगेको विद्रोहको ज्वाला अब राजनीतिक नेतृत्व तहमा पुग्न बाँकी छ । सबै क्षेत्र भद्रगोल हुने अवस्था पुग्दा पनि एउटा गलत व्यक्तिलाई बिचौलियाको टेकोमा टिकाइराख्नुले राज्यको अहिलेको चरित्र पनि उजागर गरेको छ ।