काठमाडौँ । ६१ किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई सोमबार काठमाडौं जिल्ला अदालतले धरौटीमा रिहा गरेलगत्तै प्रहरीले पक्राउ गरेको छ । अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।
अदालतको आदेशपछि रिहा भएलगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेको हो । सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको जानकारी दिए ।
अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २०८० साल साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झण्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।
त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । त्यसयता फरार रहेकी रोकालाई प्रहरीले काठमाडौंको टोखाबाट यही असार ६ गते पक्राउ गरेको थियो । अदालतमा पेस भएकी उनीविरुद्धको मुद्दामा आइतबार र सोमबार थुनछेक बहस भएको थियो ।