किमाथाङ्का (सङ्खुसवासभा)। उत्तर–दक्षिण कोशी सडकअन्तर्गत सङ्खुवासभाको मकालु गाउँपालिकाको खाँदबारी–किमाथाङ्का सडकखण्ड सुक्खा पहिरोेका कारण अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले मकालु गाउँपालिका–५ फ्याक्सिन्दास्थित फ्याक्रे खोलामा सुक्खा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्ध भएको जानकारी दिए ।
फ्याक्सिन्दा स्थित फ्याक्रेखोलाको पुलमा मंगलबार बिहान करिब ६ बजे सुक्खा पहिरो खसेको थियो । जसका कारण खाँदबारी–किमाथाङ्का सडकखण्ड अवरुद्घ हुँदा मकालुको केही वडा र भोटखोला जाने यातायात अवरुद्ध भएको प्रहरी नायव उपरीक्षक बस्नेत बताए ।
उत्तर–दक्षिण कोशी सडक कार्यालयका सूचना अधिकारी नरेश जिरेलले फ्याक्रेखोलाको पुलमा खसेको पहिरो हटाउन सुरु गरिएको जानकारी दिए ।