काठमाडौं । प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको असार ८ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र शून्य दशमलव ९४७४ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको हो ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४४ करोड १४ लाख ८८ हजार रुपैयाँ छ । सोही पुँजीको आधारमा कम्पनीले २५ करोड ९४ लाख ६७ हजार रुपैयाँबराबरको बोनस सेयर वितरण गर्न लागेको हो । कम्पनीले पछिल्लो पाँच वर्षयताकै बढी लाभांश यो वर्ष वितरण गर्न लागेको हो । यसअघि आर्थिक वर्ष ०७३ र ७४ मा २० दशमलव २१ प्रतिशत लाभांश वितरण गरेको कम्पनीले त्यसयताका वर्ष भने २० प्रतिशतभन्दा कम लाभांश वितरण गरेको छ ।
गत वर्ष भने कम्पनीले चार दशमलव ७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव २५ प्रतिशत गरी कुल पाँच प्रतिशत लाभांश वितरण गरेको थियो । यस वर्षको प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति पछि कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।