काठमाडौं । अमेरिकी विश्वविद्यालयहरू प्रविधि, अनुसन्धान र नवप्रवर्तनमा अग्रणी मानिन्छन् । नेपाली विद्यार्थीका लागि त्यहाँका विश्वविद्यालयहरूले स्नातक, स्नातकोत्तर र पेशागत कार्यक्रममा व्यापक अवसर ल्याएका छन् ।
यही सन्दर्भमा काठमाडौंमा आयोजित छलफलमा अभिला विश्वविद्यालय र इनयुनीका प्रतिनिधिहरूले अमेरिकी शिक्षाको गुणस्तर, लचिलो पाठ्यक्रम र व्यावसायिक सम्भावनाबारे जानकारी दिए । अभिलाका ग्लोबल स्टुडेन्ट रिक्रुटमेन्ट निर्देशक स्माइल एल–मोइजले नेपाली विद्यार्थीहरूको मेहनत, प्रतिबद्धता र विश्वदृष्टिकोणको प्रशंसा गर्दै भने, ‘हामी डिग्री मात्र होइन, करिअर निर्माणको बाटो देखाउँछौँ ।’ इनयुनिका क्षेत्रीय निर्देशक सुवास थापाले अमेरिका अझै पनि उत्कृष्ट शैक्षिक गन्तव्य भएको बताउँदै विद्यार्थीको पृष्ठभूमिअनुसार उपयुक्त विश्वविद्यालय सिफारिस गरिने जानकारी दिए ।
अभिलाका प्रबन्धक जुगल आचार्यले क्याम्पस जीवन अध्ययनभन्दा परको अनुभव र आत्मविकासको यात्रा समेत हुने बताए । ‘अवसर प्रशस्त छन्, शुल्क, भिसा प्रक्रिया र सांस्कृतिक समायोजन चुनौतीपूर्ण छन्’, उनले भने, ‘छात्रवृत्ति, पेसेवर परामर्श र मानसिक तयारीले यी चुनौती पार गर्न सकिने छ ।’