काठमाडौं । टाटा कर्भ ईभीमा काठमाडौंदेखि कन्याकुमारीसम्मको यात्रा गरिएको छ । नेपालका दुई युवा अवशिष प्रसाद ओझा र विजय राम कासजूले काठमाडौंदेखि कन्याकुमारीसम्मको केटुके ड्राइभ गरेका हुन् ।
विश्व वातावरण दिवसको अवसर पारेर जेठ २३ गते थापाथलीस्थित टाटा मोटर्स सोरूमबाट टाटा कर्भ ईभीमा सुरु गरिएको यो विद्युतीय गाडीको यात्रा भारतको दक्षिणी छेउ कन्याकुमारीसम्म पुगेर करिब ६७ सय किलोमिटरको यात्रापछि थापाथलीस्थित टाटा मोटर्स सोरूममा आईपुगेर समाप्त भएको थियो । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ प्रा.लि. ले सो यात्रा गरेका ओझा र कासजूलाई सम्मान गरेको छ । टाटा कर्भ ईभीको यात्रामा सहभागी अटो उत्साहीद्वय ओझा र कासजूसँग थापाथलीस्थित पिभीवियू सोरूममा विशेष अनुभव आदान–प्रदान कार्यक्रम आयोजना गरी सम्मान गरिएको हो । कार्यक्रममा यात्राको अनुभव, चार्जिङ इन्फ्रास्ट्रक्चर, सडक अवस्थाहरू र टाटा कर्भ ईभीको उत्कृष्ट प्रदर्शनबारे छलफल भएको थियो ।
अवशिष ओझाले कर्भ ईभीले लामो दूरीको यात्रा अत्यन्त सहज र रोमाञ्चक बनाएको बताए । ‘भारतभरका चार्जिङ स्टेसनहरू, रोड कन्डिसन र गाडीको परफर्मेन्स उत्कृष्ट रहेको अनुभव गर्यौँ । कर्भ ईभीले भारतमा एकै चार्जमा पाँच सय किलोमिटरभन्दा बढीसम्म दियो र नेपालमा तीन सय ७५ किलोमिटरभन्दा बढी रेञ्ज दिएको थियो’, उनले भने, ‘जुन एकदमै प्रभावशाली रह्यो । टाटाको गाडी लिएर भारत जाने सोच्दै हुनुहुन्छ भने ढुक्क भएर यात्रा गर्न सकिन्छ ।’ विजय कासजुले यो यात्रा विद्युतीय सम्भावनाहरूको परीक्षण भएको बताए । ‘हामी उत्साहित छौँ, कर्भ ईभीले त्यो सम्भावनालाई प्रमाणित गर्यो’, उनले भने ।
कार्यक्रममा प्यासेन्जर गाडी डिभिजनका जनरल म्यानेजर सावन्त जंग सिजापतिले यस ऐतिहासिक ड्राइभमा जोडिन पाएकोमा गर्व लागेको बताए । ‘कुनै समय काठमाडौँ बाहिर विद्युतीय गाडी लग्न दुईचोटी सोच्नुपथ्र्यो, अहिले नेपालबाट भारतको यात्रा गर्दा पनि सहज छ भने सन्देश यो केटुके ड्राइभले पुष्टि गरेको छ’, उनले भने । नेपालमा हालै सार्वजनिक गरिएको टाटा कर्भ ईभी अत्याधुनिक फिचरहरूसहितको इलेक्ट्रिक एसयूभी–कुपे हो । सिप्रदी ट्रेडिङले कर्भ ईभीजस्ता प्रविधिमैत्री उत्पादनहरूमार्फत इलेक्ट्रिक मोबिलिटीको भविष्य निर्माणमा निरन्तर भूमिका खेल्ने प्रतिबद्धता जनाएको छ ।