काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विदेशबाट फर्केका युवालाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्नेगरी कृषिमा आकर्षित गर्ने वातावरणको निर्माणमा नीतिनिर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताएका छन् ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरेको राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित ‘स्टार्टअप’ कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहन गर्नुपर्ने बताए । कृषकको उत्पादनको बजारीकरणको व्यवस्था, समयमै बीउविजन र मलको आपूर्ति, नवीनतम औजार÷उपकरण÷यन्त्र र प्रविधिको उपलब्धता, कृषकको समस्याको पहिचान र निदानको व्यवस्था, कृषकको मनोबल उच्च बनाउन श्रमको सम्मानको व्यवस्था, कृषकलाई सहुलियतपूर्ण कर्जा र कृषि बीमाको व्यवस्था राज्यले प्राथमिकतामा दिनुपर्ने उनको भनाइ छ ।
निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै औधोगिकीकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सकिने बताए । उनले नेपालको कृषि क्षेत्रले उपभोगमुखी उत्पादन र न्यून निर्यात क्षमता तथा उच्च व्यापार घाटाको प्रतिबिम्ब गर्ने गरेको उल्लेख गर्दै अशिक्षित, गरिबी र न्यून आय हुने परिवारको पेसाका रुपमा रहेको कृषि व्यवसायले अहिले परिचय फेरेको बताए ।
‘शिक्षित युवा वर्ग तथा उच्च आय हुने परिवारले पनि अहिले कृषिलाई मुख्य पेसा बनाई यसैबाट लाखौँ आम्दानी गरिरहेका उदाहरणहरू छन् र कृषिमा नवीनतम प्रविधि भित्रिएको छ’, उनले भने, ‘कृषि क्षेत्रमा प्रशस्त सम्भावना देखिएका छन् । अहिले नेपालले कतिपय कृषिजन्य उत्पादनहरू निर्यात गरी आम्दानी गरिरहेको छ भने दुग्ध उत्पादन, माछा मासु र अण्डामा आत्मनिर्भर भएको छ ।’ मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउन जरुरी रहेको उनले बताए ।
कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले किसानले माटोमा बगाएको पसिनाले हाम्रो भान्छा भरिएको मात्र नभई मुुलुकको अर्थतन्त्रलाई ठूलो टेवा पुगेको बताए । कृषकको योगदानले नेपाली कृषि व्यवसायलाई आत्मनिर्भर, उत्पादनमुखी र आधुनिक बनाउने दिशामा महत्वपूर्ण मार्गनिर्देशन दिएको उनको भनाइ थियो । प्रतिनिधिसभा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति कुसुमदेवी थापाले राज्यले अनुदानभन्दा पनि कृषि व्यवसायमा संलग्न किसानहरूका लागि न्यून व्याजदरमा सहुलियत ऋण, समयमै मलखाद र सिँचाइको उपलब्ध गराउनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा राष्ट्रपति पौडेलले कोशी प्रदेशबाट ‘आर्य कृषि फार्म’का सुरेशकुमार मेहता र ‘रमेश कृषि फार्म’का रमेश साह, मधेश प्रदेशबाट ‘शम्भुनाथ माछा फार्म’का भरतकुमार यादव र निजगढ केरा एग्रिकल्चर फार्मका हिराबहादुर थापा मगरलाई पुरस्कृत गरेका थिए । यसैगरी बागमती प्रदेशबाट कालिका पशु विकास केन्द्रका चेतप्रसाद ढकाल र ग्रिनलाइन एग्रो प्रालिका दयाराम मचामसी, गण्डकी प्रदेशबाट ङवाङहिसी कृषि तथा पशुपन्छी अग्र्यानिक फार्मका छिरिङ गुरुङ र मित्र वाटिका कृषि फार्मका बाटुली तिवारी, लुम्बिनी प्रदेशबाट जयपाल मौर्य र शान्ति उन्नत पशुपालन तथा माछा फार्मका सुवास कुर्मी, कर्णाली प्रदेशबाट गोविन्द ओली र भरतनाथ योगी तथा सुदूरपश्चिम प्रदेशबाट खप्तड पशुपन्छी तथा कृषि फार्मका प्रेमप्रसाद जोशी र कैलाशेधरी कृषि तथा पोल्ट्री फार्मका लोकबहादुर थापालाई राष्ट्रपति पौडेलले सम्मान गरे ।
पुरस्कृत सबै कृषकलाई जनही दुई लाख रुपैयाँक र सम्मानपत्र प्रदान गरिएको थियो । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गरिएको हो ।