दोलखा । असार १० गतेभित्र बजेट तथा नीति कार्यक्रम सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार यहाँका स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् ।
जिल्लामा दुई नगरपालिका र सात वटा गाउँपालिका गरी कुल नौ वटा स्थानीय तह रहेका छन् । यहाँको भीमेश्वर नगरपालिकाले आगामी वर्षको लागि ८८ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । मंगलबार सातौँ नगरसभामा नगरपालिकाकी उपप्रमुख कमला बस्नेतले ८८ करोड छ लाख सात हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । उनका अनुसार बजेटमा आर्थिक विकासमा एक करोड ३७ लाख, सामाजिक विकासमा तीन करोड ३१ लाख ८० हजार, भौतिक पूर्वाधार विकासमा १५ करोड ४३ लाख ५० हजार तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १२ करोड ११ लाख २० हजार रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी वडाले सिफारिस गरेका योजना कार्यान्वयनका लागि आठ करोड, संघीय तथा प्रदेश सरकारको ससर्त अनुदान, समपूरक अनुदान तथा विशेष अनुदानतर्फ ४४ करोड ६८ लाख ५७ हजार रुपैयाँ, वित्तीय व्यवस्थापनतर्फ दुई करोड ३७ लाख तथा विशेष कोषतर्फ ७७ लाख विनियोजन गरिएको उप्रमुख बस्नेतले जानकारी दिइन् ।
नगरपालिकाले कुल बजेटको नौ दशमलव ३९ प्रतिशत आन्तरिक स्रोत परिचालन गर्ने लक्ष्य राखेको छ भने बाँकी संघीय सरकार र प्रदेश सरकारका विभिन्न शीर्षकका अनुदान, राजस्व बाँडफाँटमार्फत प्राप्त हुने रकम परिचालन गर्ने जनाएको छ । नगरपालिकाले इञ्जिनियरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गरिने नयाँ कार्यक्रम समेत बजेटमा ल्याएको छ ।
यसैगरी, वैतेश्वर गाउँपालिकाले ५६ करोड ३८ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । मंगलबार गाउँपालिका अध्यक्ष छवि लामाको अध्यक्ष्यतामा भएको गाउँसभाको १७औँ अधिवेशनमा उपाध्यक्ष कल्पना उप्रेतीले पुँजीगततर्फ ३४ करोड ९५ लाख रुपैयाँ र चालूतर्फ २१ करोड ४२ लाख रुपैयाँ बराबरको बजेट प्रस्ताव गरेकी हुन् । त्यसैगरी, गाउँपालिकाभित्र रहेका बाल विकास केन्द्र सहयोगी कार्यकर्ताहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, स्नातकसम्म सञ्चालन भएका सामुदायिक क्याम्पसहरूलाई पूर्वाधार विकासका लागि प्रोत्साहन अनुदान उपलब्ध गराउने, शैक्षिक संस्थाहरूमा सूचना प्रविधिमैत्री शिक्षण सिकाइ गरी शिक्षामा नवीनतम प्रविधिहरूको विकास र व्यवस्थापनमा सहयोग र सहकार्य गरिने बजेटमा उल्लेख छ ।
तामाकोशी गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ७५ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँसभाको सातौँ अधिवेशनमा गाउँपालिकाकी उपाध्यक्ष सिर्जना खड्का सुवेदीले आगामी वर्षका लागि सो बराबरको बजेट तथा वार्षिक नीति कार्यक्रमहरू सार्वजनिक गरेकी थिइन् । त्यस्तै, जिल्लाको गौरीशंकर गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ६४ करोड २२ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । गाउँसभाको १७ औँ अधिवेशनमा उपाध्यक्ष उमा लुङ्गेली मगरले गौरीशंकरमा आगामी वर्षका लागि संघीय सरकारबाट ३८ करोड २२ लाख ५७ हजार, प्रदेश सरकारबाट ११ करोड ९३ लाख १२ हजार र गाउँपालिकाको आन्तरिक राजस्वतर्फ ३३ लाख आम्दानी हुने अनुमानसहित ६४ करोड २२ लाख ६९ हजार बराबरको बजेट गाउँसभामा प्रस्ताव गरेकी हुन् ।
त्यसैगरी जिल्लाको शैलुङ गाउँपालिकाले पनि आफ्नो वार्षिक बजेट सार्वजनिक गरेको छ । शैलुङले आगामी वर्षको लागि ६६ करोड ८० लाख १६ हजार बराबरको बजेट ल्याएको छ । चालूतर्फ ३५ करोड ६७ लाख ७६ हजार र पुँजीगततर्फ ३१ करोड १८ लाख ४२ हजारको बजेट निर्माण गरेको शैलुङ गाउँपालिकाले जनाएको छ । यस्तै, जिरी नगरपालिकाले ५७ करोड ४७ लाख १६ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १६औँ नगरसभामा नगर उपप्रमुख कृष्णमाया बुढाथोकी खड्काले सो रकम बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।
जिल्लाको मेलुङ गाउँपालिकाले पनि आगामी वर्षको लागि ५३ करोड सात लाख ६६ हजार बराबरको बजेट ल्याएको उपाध्यक्ष गायत्री आचार्यले बताइन् । पालिकाले चालूतर्फ ३३ करोड २० लाख ७७ हजार र पुँजीगततर्फ १९ करोड ८६ लाख ५१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको थियो । यता कालिञ्चोक र बिगु गाउँपालिकाले भने वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरे पनि बजेट भने सार्वजनिक गरेका छैनन् ।