काठमाडौं । नेपालको डिजिटल रेमिट्यान्स सेवा प्रदायक इसेवा मनी ट्रान्सफरले टच एन गो वालेटसँग सम्झौता गरेको छ । यसबाट मलेसियामा बसोबास गर्ने नेपालीलाई सामाजिक सुरक्षा कोषमा सहजरूपमा डिजिटल माध्यमबाट योगदान गर्नसक्ने व्यवस्था मिलाएको छ ।
यो सम्झौता टीएनजी डिजिटल रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरेन राजा गोपाल र इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाबीच सम्पन्न भएको हो । सम्झौतामा इसेवा मनी ट्रान्सफर र टच एन्ड गो वालेटबीचको दीर्घकालीन सहकार्यको सम्भावना पनि प्रस्ट पारिएको छ । सम्झौताअनुसार अब मलेसियामा रहेका नेपालीहरूले टच एन गो वालेटमार्फत सामाजिक सुरक्षा कोषमा सहजरूपमा योगदान गर्न सक्नेछन् ।
टीएनजी डिजिटल रेमिट्यान्सका प्रमुख कार्यकारी अधिकृत सर्भेस्वरनले नेपालकै सबैभन्दा ठूलो फिनटेक कम्पनी एफवान सफ्टअन्तर्गतको पहिलो डिजिटल रेमिट्यान्स कम्पनी, इसेवा मनी ट्रान्सफरसँग साझेदारी गर्न पाउँदा खुशी व्यक्त गरे । उनले भने, ‘यो साझेदारी केवल रेमिट्यान्समा मात्र सीमित छैन, हामी एफवान सफ्टसँग आपसी वृद्धिका र नवीन प्रविधिमा आधारित सहकार्यका थुप्रै सम्भावनाहरूमा काम गरिरहेका छौँ । सामाजिक सुरक्षामा पहुँच विस्तार र डिजिटल समावेशितालाई प्रवद्र्धन गर्ने दिशामा यो पहल एक महत्वपूर्ण र दूरदर्शी कदम हो ।’
त्यसैगरी, इसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘मलेसियामा बसोबास गर्ने नेपाली समुदायलाई सामाजिक सुरक्षा कोषमा सहज पहुँच प्रदान गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौँ । अब मलेसियामा रहेका हाम्रा दाजुभाइ तथा दिदीबहिनीहरूले टच एन गो एपमार्फत सहजरूपमा सामाजिक सुरक्षा कोषमा आफ्नो योगदान गर्न सक्नेछन् । यस साझेदारीले भुक्तानी प्रक्रियालाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउनुका साथै प्रवासी नेपालीहरूको दीर्घकालीन वित्तीय सुरक्षामा पहुँच टेवा पु¥याउनेछ भन्ने हाम्रो विश्वास छ ।’
इसेवा मनी ट्रान्सफरले परम्परागत र डिजिटल माध्यममार्फत इसेवा वालेट, बैंक तथा वित्तीय संस्थाहरू र आफ्ना भुक्तानी केन्द्रहरू प्रयोग गरी देशव्यापी रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको छ ।
सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त यो संस्था एफवान सफ्ट ग्रुपअन्तर्गतको एक भगिनी कम्पनी हो, जसले दुई करोडभन्दा बढी व्यक्ति र एक लाख ३० हजारभन्दा बढी संस्थाहरूलाई फिनटेक समाधानमार्फत सशक्त बनाउँदै आएको छ ।
टच एन्ड गो वालेट मलेसियाको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक हो, जसले प्रयोगकर्ताहरूलाई सुरक्षित, सहज र भरपर्दो डिजिटल भुक्तानी समाधानहरू प्रदान गर्छ । विभिन्न क्षेत्रहरूमा व्यापकरूपमा स्वीकार गरिएको टच एन्ड गो वालेटले सिर्जनात्मक प्रविधि र प्रयोगकर्तामैत्री सेवामार्फत बजारमा अग्रणी स्थान मात्र बनाएको छैन, मलेसियालाई नगदरहित अर्थतन्त्रतर्फ रूपान्तरण गर्नेतर्फ दिशानिर्देशकको भूमिका पनि निर्वाह गर्दै आएको छ । यस साझेदारीमार्फत प्रवासी नेपाली समुदायलाई वित्तीय समावेशिताको नयाँ ढोका खोलिने अपेक्षा गरिएको छ ।