काठमाडौं । ४०औँ श्री जगन्नाथ रथयात्रा महामहोत्सव हुने भएको छ । नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोनको आयोजनामा असार १३ गते शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा महामहोत्सव हुन लागेको हो ।
उक्त रथयात्रा महोत्सव–कमलादी–घण्टाघर–दरबारमार्ग–पुतलीसडक–प्रदर्शनीमार्ग–भद्रकाली–एनएसी–न्यूरोड– बसन्तपुर– न्युरोड हुँदै टुँिडखेलमा समापन हुनेछ । नेपाली संस्कृतिको जगेर्ना तथा समाजमा आध्यात्मिक वातावरण स्थापनाको लागि रथयात्रा गर्न लागिएको हो । नेपाल इतिहासमा परापूर्वकालदेखि नै राजाको प्रमुख आतिथ्यमा रथयात्रा हुने गर्दथ्यो । यसै संस्कृतिलाई निरन्तरता दिँदै राष्ट्रपतिको उपस्थितिमा यसपटक पनि रथयात्राको शुभारम्भ हुने आयोजकले जनाएको छ ।
राष्ट्रपतिले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा जगन्नाथ बलदेव सुभद्रा महारानीको दर्शन गरी पूजामा सहभागी हुने कार्यक्रम छ । साथै, वैदिक धर्मलाई संसारभरि प्रचार गर्ने इस्कोनका संस्थापक आचार्य श्री श्रीमद् एसी भक्तिवेदान्त स्वामी प्रभुपादजीलाई माल्यार्पण गरी सम्मान प्रकट गर्नेछन् । साथै, इतिहासमा जगन्नाथ पुरीका राजाले भगवान् विराजमान भएको रथ हिँड्ने बाटो सुनौलो झाडु प्रयोग गरी मार्जन गर्ने गरेको र त्यसरी नै राष्ट्रपतिले पनि मार्जन गरी वैष्णव संस्कारलाई निरन्तरता दिने कार्यक्रम छ ।
श्रीजगन्नाथ रथयात्राको मूल आकर्षण भगवान् श्रीजगन्नाथ, बलराम र सुभद्राजीलाई विशेष रुपमा सजाइएको भव्य रथमा विराजमान गराई नगर परिक्रमा गराउने ऐतिहासिक तथा धार्मिक परम्परा हो । भक्तजनहरूले रथ तान्ने सेवा गर्न पाउने यो दुर्लभ अवसरमा सहभागिता जनाउनुनै स्वयंमा एक आध्यात्मिक सौभाग्य मानिन्छ । रथयात्राको क्रममा भक्तिभावले भरिएका हजारौैँ भक्तजनहरू मृदङ्ग, करताल र अन्य बाजाहरूको तालमा हरिनाम संकीर्तन गर्दै सँगै नाच्ने, गाउने र प्रभुको महिमा गाउने वातावरण बन्नेछ । यस अवसरमा विशेष पूजापाठ, आरती, वैदिक मन्त्र उच्चारण, पुष्प र धूपको सुवासले पूरा वातावरणलाई पवित्र बनाइनेछ । भक्तजनहरूले रथयात्राका क्रममा भगवानको प्रत्यक्ष दर्शन गरेर मन, वाणी र कर्म शुद्ध गर्ने अवसर पाउनेछन् ।