वीरगन्ज । वीरगन्ज नाका भएर रासायनिक मल धमाधम भित्रिएको हुँदा विगतका वर्षमा जस्तो यस वर्ष धान बालीका लागि रसायनिक मलको अभाव नहुने भएको छ । मल आपूर्तिकर्ता संस्थाको भण्डारमा पनि पर्याप्त मल रहेका कारण कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनका मधेश प्रदेश कार्यालयले यस वर्ष मलको अभाव नहुने जानकारी दिएको छ ।
अहिले पनि कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जको गोदाममा रसायनिक मल (डिएपी र युरिया) करिब २० हजार मेट्रिक टन मौज्दात छ । हाल कार्यालयको वीरगन्जस्थित गोदाममा पाँच हजार ४५० मेट्रिक टन युरिया, १२ हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार ३४० मेट्रिक टन पोटास मौज्दात रहेको कृषि सामग्री कम्पनी लिमिटेड मधेश प्रादेशिक कार्यालय वीरगन्जका कामु प्रादेशिक प्रमुख दुर्गाप्रसाद पाण्डेयले जानकारी दिए ।
प्रमुख पाण्डेयले ३० हजार टन युरिया मल भित्रिने तयारीमा कोलकातामा रहेकाले यस वर्ष बर्खे बालीका लागि रासायनिक मलको अभाव नहुने बताए । उनका अनुसार आपूर्तिकर्ता कम्पनी सन इन्टरनेसनलले पठाएको १६ हजार मेट्रिक टन अन्तर्गतको एक र्याक युरिया मल गत बिहीबार आइपुगेको छ ।
मधेश प्रदेशको चपुर, ढल्केबर, कलैया, नवलपुर र बागमती प्रदेशको सिन्धुली काठमाडौँ, गजुरी, हेटौँडा, धुलिखेल, त्रिशूली, भरतपुर अनि गण्डकी प्रदेशको पर्वत, पोखरा र दमौली कार्यालयमा वीरगन्ज कार्यालयबाटै ढुवानी भएर रासायनिक मल जाने गरेको छ । पर्सा र गोरखा जिल्लाका लागि प्रादेशिक कार्यालय वीरगन्जबाट वितरण गर्ने गरिएको उनले बताए ।