लाओस । लाओस सरकारले स्थानीय समुदायहरूको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले रबर खेती प्रवद्र्धन गर्न एक निजी रबर उद्योगसँग सहकार्य गर्दै अगाडि बढेको छ । यो पहलले हरित क्षेत्रको विस्तारसँगै स्थायी आम्दानीका अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ । जसबाट परिवारको आर्थिक स्थिति सुदृढ हुँदै समुदायहरू क्रमशः गरिबीबाट मुक्त हुने विश्वास लिइएको छ ।
उत्तर लाओसको बोकेओ प्रान्तमा अवस्थित पाक्था जिल्लामा पाँच हजार हेक्टर क्षेत्रफलमा रबर खेती विस्तार गर्न ३० वर्षे साझेदारी सम्झौता सम्पन्न भएको लाओ न्युज एजेन्सीले जानकारी दिएको छ । राजधानी भियन्टियनदेखि करिब तीन सय ५० किलोमिटर टाढा पर्ने यस क्षेत्रमा कार्यान्वयन गरिने योजनाअनुसार, उक्त कारखानाले किसानहरूलाई रबरका बिरुवासँगै रोपाइँ, संरक्षण र रबर संकलनसम्बन्धी आवश्यक तालिमसमेत प्रदान गर्नेछ ।
स्थानीय कृषकहरू यस प्रक्रियामा सक्रियरूपमा संलग्न हुनेछन्, जसबाट रोजगारीका अवसरहरू सिर्जना हुने र आम्दानी स्थिर हुँदै जाने अपेक्षा गरिएको छ। यसले ग्रामीण जीवनस्तर सुधार गर्ने र दिगो आर्थिक विकासमा योगदान पु¥याउने विश्वास गरिएको छ ।
यस परियोजनाले दीर्घकालीन सामाजिक–आर्थिक समृद्धि, वातावरण संरक्षण तथा हरियाली विस्तारलाई विशेष प्राथमिकता दिएको छ। सम्बद्ध निकायहरूले सबै सरोकारवालाबीच सहकार्य र समन्वय आवश्यक रहेको औँल्याएका छन्, जसबाट परियोजनाको सफलता र लाभको न्यायसंगत वितरण सुनिश्चित गर्न सकिन्छ ।
रबर खेतीलाई हरित क्षेत्र विकास गर्ने र खेतीलाई दिगो र व्यावहारिक पेसाको रूपमा स्थापित गर्ने रणनीतिको एक महत्वपूर्ण अङ्गका रूपमा हेरिएको छ । लाओस सरकारले ग्रामीण क्षेत्रमा गरिबी न्यूनीकरण गर्दै समग्र जीवनस्तर उकास्ने उद्देश्यले कृषि क्षेत्रलाई प्रमुख माध्यमका रूपमा विकास गर्दै आएको छ । रासस/सिन्ह्वा