काठमाडौं,नेपाली काँग्रेसको कोटाबाट नियुक्त भएका नेपाल राष्ट्र बैंकका १९औँ गभर्नर डा. विश्वनाथ पौडेल निजी क्षेत्रद्वारा सञ्चालित सानिमा बैंकको संस्थापक सेयरधनी रहेको खुलेको छ ।गभर्नर नियुक्त हुनुअघि उक्त बैंकको सञ्चालकबाट राजीनामा दिएका पौडेलको सोही बैंकमा अहिले पनि दुई करोड ४४ लाख १७ हजार नौ सय रुपैयाँ बराबरको दुई लाख ४४ हजार एक सय छ कित्ता संस्थापक सेयर छ ।गभर्नर डा. पौडेल सानिमा बैंककै सञ्चालक रहेको, सो बैंकका अनुसार करोडौँ रुपैयाँको संस्थापक सेयर रहेको र हालको अवस्थामा उनले गठन गरेको बैंकिङ क्षेत्र सुधार कार्यदलमा सानिमा बैंककै पूर्वप्रमुख कार्यकारी अधिकृत भुवनकुमार दाहाल सदस्य हुनुले पनि स्वार्थ बाझिने आशंका उत्पन्न भएको छ ।
यसरी विवादमा पर्ने देखिएका गभर्नर पौडेलसँग करोडौँ रुपैयाँ बराबरको नगद र सम्पत्ति रहेको देखिएको छ । गभर्नर नियुक्ति भएसँगै सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने व्यवस्था रहेकोमा उनले केही दिनअघि नेपाल राष्ट्र बैंकमा बुझाएको सम्पत्ति विवरणमा उनीसँग नगद, जिन्सी र चलअचल सम्पत्ति समेत गरी वर्तमान बजार मूल्यको आधारमा २३ करोड रुपैयाँ बराबरको सम्पत्ति देखिएको हो ।
गभर्नर डा. पौडेलले बुझाएको सम्पत्ति विवरणअनुसार उनीसँग दुई ठाउँमा घरजग्गा रहेको छ । दुवै ठाउँको जग्गा श्रीमती प्रतिभा शर्माको नाममा छ । विवरणअनुसार ललितपुरमा श्रीमतीको नाममा पाँच आना दुई दामको जग्गामा २७९५ वर्गफिटको घर छ । पैतृक सम्पत्ति र स्वआर्जनबाट उनले एक करोड ५५ लाख रूपैयाँमा सो घरजग्गा किनेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । यस्तै, नवलपरासीको गैँडाकोटमा पनि गभर्नर पौडेलले पैतृक सम्पत्ति र स्वआर्जनबाट ६० लाख रूपैयाँमा घर किनेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
सम्पत्ति विवरणअनुसार गभर्नर डा. पौडेलसँग ४५ तोला बराबरको सुनका गहना रहेको छ । यसको वर्तमान बजार मूल्य ८६ लाख ४० हजार छ । उनीसँग करिब १५ लाख रूपैयाँ बराबरको हिरा छ । सुन भने पैतृकरूपमा पाएको सम्पत्ति विवरणमा उल्लेख छ । यीबाहेक गभर्नर डा. पौडेल र उनकी श्रीमतीको नाममा विभिन्न बैंकमा २० लाख ६८ हजार रूपैयाँ बचत रहेको छ । यो रकम सानिमा बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र प्रभु बैंकमा रहेको छ । यसबाहेक गभर्नर डा पौडेलको नाममा डलर खाता पनि सञ्चालनमा छ । उनको नामको डलर खातामा ६६ अमेरिकी डलर रहेको छ । यसैगरी उनले आफ्नो श्रीमतीको नाउँमा ४४ सय ४६ अमेरिकी डलर रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । पछिल्लो विनिमय दरअनुसार उनीसँग भएको डलरको वर्तमान बजार मूल्य छ लाख २२ हजार नेपाली रुपैयाँ हुन्छ ।
गभर्नर डा. पौडेलकी आफ्नी र श्रीमतीको नाममा गरेर १४ करोड रूपैयाँभन्दा बढी सम्पत्ति रहेको देखाएका छ । सानिमा बैंक, सानिमा माई हाइड्रो, सानिमा मिडल तमोर हाइड्रो, ग्लोबेको प्रालि, संयुक्त ऊर्जा हाइड्रोपावर र चितवन इनर्जी लिमिटेडमा गभर्नर पौडेलको सेयर रहेको छ । पछिल्लो समय लगानीमा माई हाइड्रोको प्रतिकित्ता साधारण सेयरको मूल्य छ सय दुई रूपैयाँ छ । सोअनुसार पौडेलसँग सो हाइड्रोको पाँच करोड ५७ लाख रुपैयाँको सेयर रहेको छ । यसैगरी गभर्नर डा. पौडेलले आप्mनी पत्नीको नाउँमा ४४ लाख रूपैयाँमा खरिद गरेको सुजुकी कार रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।