विराटनगर । मोरङ उद्योग व्यापार संघले नेपाल राष्ट्र बैकलाई आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिकनीतिमार्फत कर्जा सीमा बढाउन सुझाव दिएको छ ।
संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी व्यक्तिगत तथा पारिवारिक लगानीकर्ताको हकमा हाल रहेको सेयर धितो कर्जा सीमालाई १५ करोडबाट बढाएर ३० करोड कायम गर्न आग्रह गरेको छ । यस्तै, हाल घरजग्गाको हकमा मूल्याङ्कनको ५० प्रतिशत मात्र कर्जा दिने व्यवस्थालाई बढाएर ७० प्रतिशत कायम गर्न, उत्पादनमूलक उद्योगहरूका लागि निर्धारित कारोबार रकमको ४० प्रतिशतको चालू पुँजी कर्जा सीमालाई ६० प्रतिशत कायम गर्न, साना तथा मझौला उद्योग÷व्यवसायको हकमा निर्धारित दुई करोडको कर्जा सीमालाई पाँचदेखि १० करोड कायम गर्न संघले माग गरेको छ ।
पत्रकार सम्मेलनमा संघका अध्यक्ष अनुुपम राठीले उद्योगहरूका लागि निर्धारित चालू पुँजी कर्जाको व्याजदरभन्दा स्थिर पुँजी कर्जाको व्याजदर न्यून रहने व्यवस्था गर्नुपर्नेमा जोड दिए । यस्तै, उनले स्टार्टअप व्यवसायका लागि बैंक कर्जा र पहुँचलाई सहज बनाउनुपर्ने बताए । हाल विदेशी मुद्राको सञ्चिति पर्याप्त रहेता पनि त्यसको समुचित प्रयोगका बारे कुनै खास व्यवस्था नगरेको देखिएकाले हाललाई विगतमा प्रतिबन्ध लगाइएका खाद्य वस्तुहरूको आयात खुला गरी विदेशी मुद्रा सञ्चितिलाई चलायमान बनाउनुपर्ने उनको भनाइ थियो ।
यस्तै, बैंक तथा डिजिटल वालेट कम्पनीहरूले डिजिटल कारोबारमा लिने ट्रान्सफर शुल्क अत्यधिक रहेकाले डिजिटल भुक्तानी हुने रकमलाई वर्गीकरण गर्न संघले माग गरेको छ । एक हजार रुपैयाँसम्म निःशुल्क, एक हजार रुपैयाँदेखि एक लाखसम्म १० रुपैयाँ र एक लाखभन्दा बढी रकममा २० रुपैयाँ शुल्क लिने पाउने व्यवस्था गर्न संघको सुझाव छ । साथै, नेपालले भारतको युपीआईमार्फत रकम प्राप्त गर्ने गरेको तर भारतमा नेपालको डिजिटल भुक्तानी हुने नगरेकोले नेपालबाट पनि भारतको युपीआईमार्फत डिजिटल भुक्तानी गर्न सकिने व्यवस्था गर्न आग्रह गरिएको छ ।
यस्तै, अत्यधिक बैंक बिदाहरूका कारण उद्योग/व्यवसायमा प्रतिकूल असर पर्ने गरेकाले साप्ताहिकबाहेक वार्षिक अधिकतम १३ दिन (श्रमिक सरह) मात्र बैंक बिदा हुने नीति ल्याउन पनि आग्रह गरिएको छ । नेपाल राष्ट्र बैंकद्वारा प्रत्येक वर्ष तयार गरिने मौद्रिक नीतिले मुलुकको वित्तीय स्थायित्व कायम गर्ने भएकाले उद्योग, व्यापार तथा समग्र आर्थिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउने गरी मौद्रिक नीति ल्याउन संघले जोड दिएको छ ।