काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकहरूको सेवालाई अझ सहज, सरल र आधुनिक बनाउने उद्देश्यले मुद्दती निक्षेप धितोमा अनलाइन माध्यमबाट नै कर्जा लिनसक्ने सुविधा ल्याएको छ ।
ग्राहकहरूलाई सरलीकृत सेवा दिने क्रममा आफ्नो मुद्दती निक्षेपको आधारमा अचानक आइपर्ने आवश्यक रकमको ऋण सहजरूपमा मोबाइल एप प्रयोग गरी प्राप्त गर्न सक्नेछन् । यस योजनाअन्तर्गत बैंकबाट आफ्नो मुद्दती निक्षेपको ९० प्रतिशत वा बढीमा दुई लाख रुपैयाँसम्म (कम्तीमा पाँच हजार रुपैयाँदेखि) ऋण लिन सक्नेछन् । सो रकम आवेदकको बचत खातामा तत्काल जम्मा हुनेछ । यसमा कुनै पनि भौतिक कागजात आवश्यक पर्नेछैन । सिटिजन्स बैंकले डिजिटल प्रविधिको उपयोगमार्फत आफ्ना ग्राहकहरूको समय, श्रम र स्रोतको बचत गर्दै सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन निरन्तररूपमा नयाँ–नयाँ डिजिटल सेवा ल्याउने क्रममा यो सेवा पनि थप गरिएको हो ।