काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको मंगलबार सम्पन्न भएको १८औँ वार्षिक साधारणसभाले आठ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाले कम्पनीको वितरणयोग्य सञ्चित मुनाफाबाट चुक्ता पुँजी नौ अर्ब १४ करोड ३२ लाख ३७ हजार तीन सय छ रुपैयाँको आठ प्रतिशतका दरले हुन आउने ७३ करोड १४ लाख ५८ हजार नौं सय ८४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्न स्वीकृत प्रदान गरेको छ ।
सभाले सञ्चालक समितिको आव २०८०/८१ को वार्षिक प्रतिवेदन, कम्पनीको आव २०८०/८१ को अवधिको लागि एनएफआरएसबमोजिम तयार गरिएको लेखापरीक्षकको प्रतिवेदन, वासलात तथा नाफा/नोक्सान हिसाब एवं नगद प्रवाह विवरण र तत्सम्बन्धी अनुसूचीहरू स्वीकृत गरेको छ । सभाले कम्पनीको सहायक कम्पनी हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडको आव २०८०/८१ को वित्तीय विवरण स्वीकृत गरेको छ भने सञ्चालक समितिको सिफारिसबमोजिम आव २०८१/८२ को लागि बाह्य लेखापरीक्षकमा लेखापरीक्षक एससी लाल एसोसिएट्स चार्टर्ड एकाउन्टेन्टलाई नियुक्ति गरेको छ । त्यस्तै कम्पनीको प्रस्तावित विषयउपर नियमनकारी निकायहरूले कुनै फेरबदल, संशोधन एवं परिमार्जनको लागि निर्देशन दिएमा सोहीबमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनी ऐनको दफा १०५ को (१) (ग) बमोजिम आव २०८०।८१ मा भएको खर्चको समेत अनुमोदन गरेको छ ।
कम्पनीका अध्यक्ष शुलभ अग्रवालको सभापतित्वमा भएको कार्यक्रममा सञ्चालक समिति सदस्य प्रमिला केसीले स्वागत मन्तव्य र सञ्चालक शौरभ दुगडले धन्यवादज्ञापन गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले सेयरधनीहरूको जिज्ञासाको जवाफ दिएका थिए ।