काठमाडौँ । वीरगञ्जमा किशोर तथा युवाहरूमाझ सुरक्षित गर्भपतनसम्बन्धी सेवा र जानकारीलाई प्रवर्धन गर्न ‘युवा पहुँच परियोजना’ सञ्चालनमा आएको छ । परियोजनाले युवाहरूलाई सुरक्षित यौन र प्रजनन स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्न विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यो परियोजनाले विशेषगरी १५ देखि २४ वर्ष उमेर समूहका किशोर–किशोरी र युवाहरूलाई लक्षित गरेको जनाइएको छ । विद्यालय, कलेज र समुदायस्तरमा पुगेर परियोजनाले सुरक्षित गर्भपतन, यौन शिक्षा, असुरक्षित गर्भपतनको जोखिम, तथा उपलब्ध निःशुल्क सेवाहरूको बारेमा सचेतना फैलाइरहेको संस्थाले जनाएको छ । युवा संस्थाका वीरगंज संयोजक आसु सर्राफका अनुसार युवाहरूलाई लक्षित सेवामा परामर्श सेवा, निःशुल्क गर्भनिरोधक साधन वितरण र आवश्यक परेमा सुरक्षित गर्भपतन सेवा समावेश गरिएको छ ।
परियोजनाले सुरक्षित गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको र उक्त विषयमा अहिले यहाँका किशोरीहरू खुलेर बोल्न थालेको वीरगञ्जको नारायणी अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा मञ्जु रायले जानकारी दिइन् । उनले भनिन्, ‘किशोरीहरू अहिले सुरक्षित गर्भपतनका लागि सरकारी अस्पतालमा आउने गरेका छन् । युवा संस्थाले गर्भपतनसम्बन्धी सेवामा राम्रो प्रभाव पारेको छ ।’