काठमाडौँ । ललितपुर महानगरपालिकाले आन्तरिक रोजगारी र शैक्षिक अवसरको जानकारी दिन ‘डिजिटल करियर सर्भिस प्लेटफर्म’ को सुरुवात गरेको छ । महानगरको रोजगार सेवा केन्द्रले ‘स्किल ल्याब’सँगको सहकार्यमा डिजिटल करियर सर्भिस प्लेटफर्म सुरुवात गरेको हो । डिजिटल करियर सर्भिस प्लेटफर्मको बुधबार एक कार्यक्रमबीच महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरेका छन् । आन्तरिक रोजगार प्रवर्द्धन अभियान सञ्चालनका लागि सो प्लेटफर्म तयार गरिएको हो ।
महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरले सूचना प्रविधि क्षेत्रबाट नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्नेतर्फ ध्यान दिएको बताए । ‘हामी कर्मकाण्डी काम होइन, सूचना प्रविधिमैत्री, नागरिकमैत्री सेवा र जनहितकारी काम गरिरहेका छौँ, अहिलेको जमानामा सूचना प्रविधिको विषयमा नै प्रतिस्पर्धा छ’, उनले भने, ‘प्रतिस्पर्धामा सफल भएर काम गर्न सक्नुपर्छ, सूचना प्रविधि क्षेत्रमा आउने नयाँनयाँ नवप्रवर्तनमा आफूलाई अभ्यस्त राख्नुपर्छ, ललितपुर महानगरलाई सूचना प्रविधिको केन्द्र बनाउने हाम्रो लक्ष्य छ ।’
यस्तै, उनले डिजिटल प्लेटफर्मलाई समयसापेक्ष परिमार्जन गरेर लैजाने बताए । एउटै मानिसले १२ वटा तालिम लिने अनि उसले कुनै पनि काम नपाउने र काम खोज्न भौतारिने अवस्था अन्त्य गर्नुपर्नेमा उनले जोड दिए । उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अनलाइनमार्फत अवसरको खोजीका लागि नयाँ प्रयोगको भएको जनाउँदै सबै युवाका लागि कोशेढुङ्गा सावित हुने बताइन् । रोजगारदाताको आवश्यकताअनुसारको रोजगार खोज्ने व्यक्तित्व प्राप्त गर्न र आफ्नो चाहनाअनुसारको रोजगारी खोज्न सजिलो हुने भन्दै योग्यताबमोजिम रोजगारी चयन गर्न उनले आग्रह गरिन् । यस्तै, उनले पाइयो भन्दैमा आफ्नो रुचि, योग्यता र क्षमताभन्दा फरक खालको काम र रोजगारीमा नलाग्न सुझाव दिइन् ।
स्किल ल्याब एसियाका प्राविधिक व्यक्तित्व शिरिजङगहाङ राईले शिक्षादेखि रोजगारीसम्मको अवसरका लागि जानकारी दिनका साथै सहज बनाउन यो ‘प्लेटफर्म’ महत्वपूर्ण हुने बताए । रोजगार सेवा केन्द्र प्रमुख लक्ष्मी कार्कीले ललितपुर महानगरले छ वर्षदेखि रोजगार सेवा केन्द्र स्थापना गरेर सेवा पुर्याउँदै आएको जानकारी दिइन् । युवामा सीप, शैक्षिक योग्यता र सम्भावनाको अवसर हुँदाहुँदै पनि जानकारीको अभाव, सूचना पहुँचको कमी तथा रोजगारदातासँगको समन्वयको कमीले गर्दा यहाँका धेरै युवा अस्थायी तथा असुरक्षित रोजगारीमा संलग्न छन् ।