बेइजिङ । चिनियाँ वैज्ञानिकहरूले एक अत्याधुनिक उपकरण विकास गरेका छन् । जसले सवारीसाधनका टायर र सडकबीचको घर्षणबाट सफा विद्युत् उत्पादन गर्न सक्छ ।
यस उपकरणलाई ‘रोडबेड ट्राइबोलोजिकल ऊर्जा संकलन यन्त्र’ भनिन्छ र यसले ऊर्जा संकलनको नयाँ र पहिले प्रयोग नगरेको स्रोतलाई उपयोग गर्ने प्रयास गरेको छ ।
रोडबेड ट्राइबोलोजिकल ऊर्जा संकलन यन्त्र एउटा प्रविधि हो, जसले सवारीसाधनका टायर र सडकबीचको घर्षणबाट उत्पन्न हुने ऊर्जा संकलन गरी त्यसलाई सफा विद्युत्मा रूपान्तरण गर्छ । यो यन्त्र ट्राइबोइलेक्ट्रिक नानो जेनरेटर प्रणाली प्रयोग गर्दछ, जसले घर्षणबाट उत्पन्न विद्युत्लाई संकलन गरेर प्रयोगयोग्य बनाउँछ । यसले सवारीसाधनको टायर र सडकबीचको अन्तरक्रियाबाट वार्षिक शून्य दशमलव तीन टेरावाट ऊर्जा उत्पन्न गर्न सक्छ, जुन ठूलो मात्रामा ऊर्जा स्रोत हो । यस प्रकारको ऊर्जा संकलनले स्मार्ट यातायात र सडक व्यवस्थापन प्रणालीलाई सहयोग पु¥याउने उद्देश्य राख्दछ ।
प्रायः ८५ प्रतिशत ऊर्जा कारको घर्षण र तातोबाट गुमिन्छ र टायर र सडकबीचको अन्तरक्रियाले विश्वभर वार्षिक शून्य दशमलव तीन टेरावाटको अप्रयुक्त ऊर्जा सम्भावना प्रदान गर्छ, जुन चीनको तीन गर्ज प्रोजेक्टको ३० वटा बाँधहरूको वार्षिक उत्पादन बराबर हुन्छ ।
चीनको विज्ञान र प्रविधि अकादमीअन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ नानो ऊर्जा र नानो प्रणालीका अनुसन्धानकर्ताहरूले सडकको आधारमा ऊर्जा संकलन गर्नसक्ने यन्त्र तयार गरेका छन् । यस यन्त्रले एकल टायरको प्रभावबाट १६ दशमलव चार मिलिवाटको अधिकतम पावर उत्पादन गर्न सक्छ र यसको ऊर्जा रूपान्तरण क्षमता ११ दशमलव सात प्रतिशत छ ।
यस यन्त्रमा ट्राइबोइलेक्ट्रिक नानोजनरेटर एरेको प्रयोग गरिएको छ, जसले ४० देखि ६० डिग्री सेल्सियससम्मको तापक्रम र विभिन्न आद्रता स्तरमा स्थिररूपमा काम गर्न सक्छ । यसका साथै, यसको लागत पनि केवल ७१ दशमलव तीन अमेरिकी डलर प्रतिवर्गमिटर रहेको छ, जसले यसलाई विश्वभरका सडक नेटवर्कहरूमा लागू गर्न निकै प्रभावकारी बनाउँछ ।
यो यन्त्र सडकका ५० मिटरको खण्डमा प्रयोग गर्दा, एक किलोमिटर सडकका ट्राफिक बत्ती, क्यामेरा र अन्य सुविधाहरूको पावर आवश्यकताहरू पूरा गर्न सक्नेछ ।
यस नवप्रवर्तनले भविष्यमा वाहन र सडक, वाहन र संरचना र अन्य प्रणालीहरूको एकीकरणका लागि नयाँ मार्ग खोल्ने विश्वास गरिएको छ, जसले स्मार्ट यातायात प्रणालीहरूको निर्माणमा सहयोग पु¥याउनेछ । रासस÷सिन्ह्वा