काठमाडौँ । गएराति राति १० बजेको समयमा काठमाडौँको टोखामा गाडीसहित बगेकी एक महिलाको प्रहरीले उद्धार गरेको छ । बा प्र०१–०३१ च ६१४१ नम्बरको निजी कार काठमाडौँको टोखा नगरपालिका–६ ग्राण्डी अस्पताल पछाडि विष्णुमति खोला किनाराबाट अचानक खोलामा खसेको थियो ।
काठमाडौँको धुम्बाराही बस्ने कार चालक अङ्कुश सिंहले चलाएको कारबाट भावना ओली गाडीसहित बगेकी थिइन् भने चालक खोला किनारामा हामफाल्न सफल भएका थिए ।
प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले बाँनियाटार पुलमा आइपुगेर गाडी अड्किएको अवस्थामा स्थानीयको सहयोगमा महिलाको उद्धार गरिएको जानकारी दिए । उनका अनुसार उद्धार गरिएकी महिला दाङ घर भई हाल टोखा बस्दै आएकी थिइन् ।
प्रहरीले उनलाई उद्धार गरी उपचारका लागि ग्रिनसिटी अस्पताल पठाएको छ । खोलाभित्र रहेको कार क्रेनको सहायताले बाहिर निकाली प्रहरी प्रभाग नयाँ बसपार्कमा राखिएको प्रहरीले जनाएको छ ।