विराटनगर । विदेशमा रहेका नेपालीको सूचना संकलन गर्न ‘श्रम संसार एप’ सञ्चालनमा ल्याइएको छ । श्रम गन्तव्य मुलुकहरूमा रहेका नेपालीहरूको सूचना र विवरण संकलन गर्ने उद्देश्यले संसारभरिका नेपाली डायस्पोराकै विवरण संकलन गर्न सक्नेगरी निर्माण गरिएको सो एप बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो ।
परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले संयुक्तरूपमा सो एपको परराष्ट्र मन्त्रालयबाट शुभारम्भ गरेका थिए । यो एपमा विदेशमा रहेका नेपालीहरूले आफ्नो विवरण दर्ता गराएपछि यसमार्फत् कहाँ, कुन अवस्थामा र कति संख्यामा नेपालीहरू रहेका छन् भन्ने बारेको सूचना प्राप्त गर्न सम्बद्ध देशका नेपाली मिसन तथा परराष्ट्र एवं श्रम मन्त्रालयलाई गर्न सहज हुनेछ । यो विवरण प्राप्त भएपछि नेपालीहरू रहेका देशमा आवश्यक पर्ने कन्सुलर सेवा प्रदान गर्न तथा समस्यामा परेकाहरूको तत्कालै उद्धार गर्न समेत सहज हुनेछ ।
परराष्ट्रमन्त्री डा. राणाले वैदेशिक रोजगारीका क्षेत्रमा रहेका कैयौँ नेपालीहरू सूचनाकै अभावका कारण ठगिएका, दुःख पाएका र विभिन्न समस्यामा परेका गुनासाहरू मन्त्रालयमा आउने गरेको बताइन् । अब यो एप सञ्चालनमा आएपछि यसबाट प्राप्त विवरणका आधारमा उनीहरूलाई कन्सुलर सेवा प्रदान गर्न सजिलो हुने उनको भनाइ छ । साथै, श्रम स्वीकृति बेगर नै श्रम गन्तव्य देशमा पुगेर काम गरिरहेकाहरूलाई पनि सम्बद्ध देशको नेपाली दूतावासबाटै श्रम स्वीकृति दिनेगरी ‘वैधानिकीकरण श्रम स्वीकृति’ प्रदान गर्ने निर्णय भएकाले उनीहरूलाई पनि सहज हुने उनले बताइन् ।
उनका अनुसार विशेषगरी श्रम स्वीकृतिविना नै विभिन्न देशमा पुगेका र हाल त्यहाँ काम गरिरहेकाहरूका लागि उनीहरूको संरक्षण, सुरक्षाका लागि ‘वैधानिकीकरण श्रम स्वीकृति’को व्यवस्था सम्बन्धित दूतावासबाटै दिनेगरी व्यवस्था मिलाइएको हो । ‘यसको अर्थ अवैधरूपमा जानेहरूलाई प्रोत्साहन गरेको भने होइन’, उनले भनिन् । मन्त्री डा. राणाले मन्त्रालयले नेपाली डायस्पोराका समस्याहरूको समाधानका लागि एक कार्यदल गठन गरी काम सुरु गरिएको बताइन् । पछिल्लो समयमा श्रम गन्तव्यमा रहेका नेपालीहरूका समस्याहरू धेरै आउन थालेकाले उनीहरूको अवस्था र समस्या बुझ्नका लागि यो एप सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।
श्रममन्त्री शरत्सिंह भण्डारीले सञ्चालनमा ल्याइएको ‘श्रम संसार एप’ र वैधानिकीकरण श्रम स्वीकृतिको यस व्यवस्थाले वैदेशिक रोजगारीका क्षेत्रमा ठूलो राहत प्रदान गर्ने बताए ।