युक्रेनको ओडेसा क्षेत्रमा शुक्रबार राति भएको रूसी ड्रोन आक्रमणमा दुई व्यक्तिको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्, जसमा बालबालिकाहरू पनि समावेश छन् ।ओडेसाका गभर्नर ओलेग किपरले टेलिग्राममार्फत जानकारी दिँदै “आवासीय भवनमा भएको यस आक्रमणबाट उद्धारकर्ताहरूले दुई जना नागरिकको शव निकाल्न सफल भएका छन्,” बताउनुभयो । उहाँका अनुसार घाइतेमध्ये तीनजना बालबालिका रहेका छन्, जसको अवस्था सार्वजनिक गरिएको छैन ।
यसैबिच, युक्रेनको दक्षिणी खेरसोन क्षेत्रमा पनि पछिल्लो २४ घण्टामा रूसी आक्रमणका कारण एक व्यक्तिको ज्यान गएको र तीन जना घाइते भएको पुष्टि भएको छ । खेरसोनका गभर्नर ओलेक्जान्द्र प्रोकुडिनले रूसी सेनाले सामाजिक तथा महत्वपूर्ण पूर्वाधार र बस्ती क्षेत्रहरूलाई निशाना बनाएको जानकारी दिनुभयो ।
सन् २०२२ देखि जारी द्वन्द्वले युक्रेनमा ठूलो मानवीय क्षति पुर्याउँदै आएको छ । लाखौं मानिस विस्थापित भएका छन् भने हजारौंको ज्यान गइसकेको छ । शान्ति स्थापनाको लागि अमेरिकाको पहलमा सुरु गरिएका वार्ता प्रक्राहरू हाल स्थगित छन् । रुसले युक्रेनलाई भूभाग सुम्पिनुपर्ने र पश्चिमी सैन्य सहायता त्याग्नुपर्ने शर्त राखेको छ, जुन युक्रेनी पक्षका लागि स्वीकार्य छैन । रासस/एएफपी