झापा । कोशी प्रदेशलाई स्वास्थ्य पर्यटनको हब बनाउन सरोकारवालाहरूले जोड दिएका छन् । नेपाल पर्यटन बोर्डद्वारा झापाको बिर्तामोडमा शनिबार आयोजित दोस्रो संस्करणको स्वास्थ्य पर्यटन मार्ट–२०८२ मा सहभागीहरूले कोशी प्रदेश स्वास्थ्य पर्यटनका लागि प्रचुर सम्भावना भएको बताए ।
कार्यक्रममा कोशी प्रदेशमा पर्यटन, वन तथा वातावरणमन्त्री षडानन्द मण्डलले कोशी प्रदेशको समद्धिका लागि पर्यटन नै एक मात्र विकल्प भएको बताए । कोशी प्रदेश सरकार प्रकृति, संस्कृति र पर्यटनलाई मूल आधार बनाएर अघि बढिरहेको समेत उनले बताए । भारतको ठूलो जनसंख्याको लाभ नेपालले लिन सक्नुपर्नेमा उनले जोड दिए । चिकित्सा उपचार मात्र नभएर आयुर्वेदिक उपचारका लागि पनि नेपाल उपयुक्त गन्तव्य भएको उल्लेख गर्दै उनले कयौँ बिरामीहरू यहाँको वातावरण र हावापानीले नै निको हुने बताए । स्वास्थ्य पर्यटन प्रवद्र्धन र सेवा विस्तारका लागि कोशी सरकार तत्पर रहेको उल्लेख गर्दै उनले उपचारका लागि आउने भारतीयहरूले पाँच लाखसम्म ल्याउन मिल्ने गरी व्यवस्था गर्न लागेको बताए ।
त्यसैगरी पर्यटन बोर्डका निमित्त निर्देशक रोहिणी खनालले स्वास्थ्य पर्यटन नयाँ क्षेत्र भएकाले यसमा थप नीतिगत सुधार गर्दै पर्यटन प्रवद्र्धन गर्न लाग्नुपर्ने बताए । कोशी प्रदेशको स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सरकारी तथा निजी क्षेत्र सहकार्य गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिए । ‘नेपालको वातावरण र यहाँका हिमालहरू हेरेर नै धेरै रोगहरू हिलिङक गर्न सकिन्छ’, उनले भने, ‘यसका लागि ठूलो जनसंख्या भएको भारतमा हामीले विश्वसनियताको वातावरण सिर्जना गर्नुपर्छ ।’
मार्टमा नेत्र, दन्त, छालालगायत विशेषज्ञ सेवा दिने अस्पताल, आयुर्वेद औषधालय, होटल व्यवसायी र पर्यटन व्यवसायी गरी ४८ स्टलहरूमार्फत् कोशी प्रदेशको स्वास्थ्य पर्यटनको प्रदर्शनी राखिएको थियो । सोही क्रममा कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको फोटो प्रदर्शनी समेत गरिएको छ । मन्त्रीमण्डलसहितको प्रतिनिधिमण्डलले स्टलहरू समेत अवलोकन गरेका थिए । स्वास्थ्य पर्यटनको सम्भावना र आवश्यकतामाथि बहस गर्न मार्टअन्तर्गत दुईवटा प्यानल डिस्कसन आयोजना गरिएको थियो ।
यसैगरी नेपालका पर्यटन व्यवसायीहरू र भारतबाट आएका प्रतिनिधिहरूबीच बीटुबी बैठक समेत आयोजना गरिएको थियो । दुवै पक्षबीच स्वास्थ्य पर्यटनका साझा योजना, सम्भावित लगानी र सहकार्यबारे सकारात्मक संवाद भएको बोर्डले जानकारी गराएको छ । कार्यक्रममा भारतबाट २० भन्दा बढी पर्यटन व्यवसायीहरूको सहभागिता रहेको थियो । भारतसँगको सीमा नजिकको भौगोलिक र सामाजिक सम्बन्धलाई उपयोग गर्दै नेपालको स्वास्थ्य पर्यटनलाई विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको यो मार्ट सफल र प्रभावकारीरूपमा सम्पन्न भएको बोर्डले जनाएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सूर्य थपलियाले स्वास्थ्य पर्यटन नेपालको आगामी आर्थिक विकासको रणनीतिक मार्ग बन्न सक्ने उल्लेख गर्दै निजी र सार्वजनिक क्षेत्रको सहकार्य अझ बलियो बनाउने प्रतिबद्धता जनाएका छन् ।