काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नबिल बैंक लिमिटेडलाई ऋणपत्र निष्काशनका लागि अनुमति प्रदान गरेको छ । बोर्डले बैंकलाई असार १२ गते ‘७ प्रतिशत नबिल डिबेन्चर २०८९’ निष्काशन गर्नका लागि अनुमति प्रदान गरेको हो ।
सेबोनले बैंकलाई एक हजार रूपैयाँ अंकित दरका तीन अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशनको अनुमति दिएको हो । जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सार्वजनिक निष्काशन मार्फत बाँडफाँट हुनेछ । यो ८ वर्षे अवधिको ऋणपत्र हो भने यसमा ७ प्रतिशत ब्याजदर तोकिएको छ । क्रेडिट रेटिङ संस्थाले यसलाई इक्राएनपी–आईआर एप्लस रेटिङ दिएको छ । बैंकको निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।