भद्रपुर (झापा) । किसान र श्रमिकको प्रगति नभएसम्म मुलुकको विकास सम्भव नहुने नेपाली कांग्रेसको राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले बताएका छन् ।
हल्दीबारीमा आइतबार नेपाल किसान महासङ्घ झापाले आयोजना गरेको धान महोत्सवमा उनले संविधानले किसानका विषयलाई प्राथमिकता दिएकाले स्थानीय र प्रदेश सरकारले किसानको जीवनस्तर सहज बनाउने किसिमका योजना ल्याउनुपर्नेमा जोड दिए ।
नेता सिटौलाले राज्यको अनुदान वास्तविक किसानसम्म पुर्याउनुपर्ने उल्लेख गर्दै आगामी आर्थिक वर्षको बजेटमा किसानका मुद्दालाई सम्बोधन गर्न पहल भइरहेको बताए । किसानलाई समयमै बीउ, मल र उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता राज्यले गराउनुपर्ने उनको भनाइ छ ।
मल अभाव, चैते धानको मूल्य नपाएकोलगायत किसानका विद्यमान समस्या समाधानका लागि पहल गरिदिन माग गर्दै नेपाल किसान महासङ्घका जिल्ला अध्यक्ष रतन सुब्बाले नेता सिटौलालाई ज्ञापनपत्र बुझाए ।