काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभाको आह्वान गरेको छ । संस्थाले यही असार ३२ गते पोखरामा आफ्नो १२ औँ वार्षिक साधारणसभा गर्न लागेको हो ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्ने आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको वासलात, आर्थिक वर्ष २०८०÷०८१ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूचीहरूउपर छलफल गरी पारित गर्ने समेतको तयारी गरेको छ । यसबाहेक सभाले कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आव २०८१/०८२ को लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, संस्थापक तर्फको सेयर स्वामित्व परिवर्तन गरी ५१ प्रतिशत कायम गर्नेसम्बन्धी प्रबन्धपत्रको दफा ६ (ङ) तथा सर्वसाधारणतर्फको सेयर स्वामित्व परिवर्तन गरी ४९ प्रतिशत कायम गर्नेसम्बन्धी प्रबन्धपत्रको दफा ६ (च) तथा संस्थापक समूहअन्तर्गत मनोनीत निर्वाचित हुने सञ्चालकको संख्यासम्बन्धी नियमावलीको ३१ (क) संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्नेछ ।
सभाले सञ्चालक समितिको गठन, संख्या र कार्यकालसम्बन्धी संस्थाको नियमावलीको नियम २७ (२) संशोधन गर्नेसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने, यस वित्तीय संस्थाले नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त ‘घ’ वर्गका अन्य लघुवित्त वित्तीय संस्थासँग गाभ्ने र गाभिने वा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउन उपयुक्त देखिएमा सो प्रयोजनका लागि समिति गठन गर्ने, मूल्यांकनकर्ताको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने, गाभ्ने र गाभिने वा प्राप्तिसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्नेलगायतका सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समिति वा समितिले तोकेको पदाधिकारीलाई प्रदान गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।