काठमाडौं । देशभर डिजिटल बैंकिङ सेवाको पहुँच विस्तार गर्दै आएको कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना मुद्दती खाता भएका ग्राहकहरूका लागि उपयोगी सुविधा सुरु गरेको छ । कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती खाता खोल्ने सुविधा रहिरहेकोमा अब ग्राहकहरूले आफ्नो मुद्दती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला बैंकको मोबाइल बैंकिङ एप केएसआई मोबाइलमार्फत नै कर्जा आवेदन दिन सक्ने र तुरुन्तै रकम आफ्नै खातामा जम्मा गर्न सकिने भएको छ ।
यसअघि मुद्दती खाताको कर्जा लिनका लागि ग्राहकहरूले अनिवार्यरूपमा नजिकको शाखा कार्यालयमा उपस्थित भई विभिन्न कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्थ्यो । तर, यस सुविधापछि शाखामा नगईकनै मोबाइल एपबाटै सहजरूपमा कर्जा लिने कार्य सम्पन्न गर्न सकिने भएकोले ग्राहकको समयको बचत, सेवामा सरलता र अनुभवमा सन्तुष्टि थपिने अपेक्षा गरिएको छ । व्यस्त समयमा समेत आफ्नो मुद्दती खाताको रकम जुनसुकै बेला जुनसुकै स्थानबाट कर्जा लिन सकिने भएपछि कार्यालय समय पनि कुर्नु नपर्ने, बैंकको शाखासम्म पनि पुग्नु नपर्ने भएसँगै ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।