काठमाडौं । भारतीय इलेक्ट्रोनिक्स ब्रान्ड बीटीएलले नेपालको लिम्बिक एड्भर्टाइजिङसँग आधिकारिकरूपमा रणनीतिक साझेदारी गरेको छ । बजाज ट्युब्स (प्रा) लिमिटेड समूहअन्तर्गतको बीटीएलले दुई दिनसम्म सञ्चालन गरिएको कार्यक्रमको क्रममा द सोल्टी होटल काठमाडौंमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
कार्यक्रममा ब्रान्डको रणनीति, बजार प्रवेश योजना, तथा दीर्घकालीन सहकार्यका विषयमा गहन छलफलहरू भएका थिए । यो सम्झौताअन्तर्गत लिम्बिक एड्भर्टाइजिङ अब नेपालमा बीटीएलको आधिकारिक ब्रान्ड कन्सल्टिङ तथा विज्ञापन साझेदार हुनेछ । यसले ठूलो भारतीय समूहले सिधै नेपाली एजेन्सीलाई आफ्नो सम्पूर्ण मार्केटिङ जिम्मेवारी दिएको उदाहरण बनाएको छ । सम्झौता कार्यक्रममा बजाज ट्युब्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नवीन बजाज र प्रमुख सञ्चालन अधिकृत प्रिन्स बजाज तथा लिम्बिक एड्भर्टाइजिङको प्रबन्ध निर्देशक प्रज्ञा शर्माले सम्झौतामा हस्ताक्षर गरेका थिए । बीटीएलका उत्पादनहरू टेलिभिजन, एयर कन्डिसनर र डिप फ्रिजरलगायत छन् ।