काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा लगानी भित्र्याउन निजी क्षेत्रसँग सहकार्य गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ सुदूरपश्चिम प्रदेशको नयाँ कार्यसमिति पदस्थापन तथा कार्यालय उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले लगानीमैत्री वातावरण बनाउन प्रदेश सरकार लागेको बताए । प्रदेश सरकारले लगानी सम्मेलन गर्न लागेको जानकारी दिँदै उनले लगानीमैत्री वातावरण बनाउन आवश्यक प्रक्रियाहरू अगाडि बढाएको बताए । सुदूरपश्चिममा थुप्रै लगानीको सम्भावना रहेको उनको भनाइ छ ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले प्रदेशका युवा उद्यमीहरूलाई प्रोत्साहन एवं प्रबद्र्धन गर्न इन्क्युवेसन सेन्टर स्थापना गर्न प्रदेश सरकारलाई आग्रह गरेका थिए । यस्तै, अध्यक्ष अग्रवालले मुलुकको समग्र आर्थिक विकासका लागि परिसंघले काम गर्दै आइरहेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारसँग सहकार्य गर्दै अगाडि बढ्न प्रतिबद्ध रहेको बताए ।
परिसंघका उपाध्यक्ष भीम घिमिरेले प्रदेश परिसंघले प्रदेश एवं स्थानीय उद्योगी व्यवसायीहरूको हकहितका लागि प्रदेश सरकारलाई तथ्यपरकरूपमा नीतिगत सुझाव दिन सफल हुने बताए । परिसंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रमणचन्द्र श्रेष्ठले प्रदेश सरकारसँग नजिक रहेर आर्थिक विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएका थिए ।
यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनका विषयमा मुख्यमन्त्री शाहले परिसंघसँग छलफल गरेका छन् । धनगढी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेश लगानीका लागि उर्वरभूमि रहेको बताउँदै लगानीकर्ता ल्याउन सहयोग गर्न परिसंघलाई आग्रह गरेका थिए । परिसंघका अध्यक्ष अग्रवालले प्रदेशमा रहेको लगानीका क्षेत्रबारे लगानीकर्तालाई जानकारी गराउन गर्न लागिएको लगानी सम्मेलनलाई परिसंघले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाए ।