काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले प्रविधि र नवप्रवर्तनका क्षेत्रमा सहकार्यका लागि चीन सरकारसँग आग्रह गछन् ।
चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीसँग भएको भेटवार्तामा उनले नेपाल र चीनबीच लामो र विश्वासिलो सम्बन्ध रहेको चर्चा गर्दै प्रविधि र नवप्रवर्तनका क्षेत्रमा लगानी गर्न आग्रह गरेका हुन् । पर्यटन, पूर्वाधार, ऊर्जाजस्ता क्षेत्रमा चीनको सहयोगले नेपालको विकासमा महत्वपूर्ण टेवा पुगेको उनले बताए । यस्तै अध्यक्ष ढकालले व्यापार तथा लगानीका क्षेत्रमा नेपाल र ग्वाङ्दोङबीच सहकार्यको सम्भावना रहेको उल्लेख गरे । अध्यक्ष ढकालले महासंघको सक्रियतामा सरकारले हालै ३० भन्दा बढी कानुन संशोधन तथा परिमार्जन गरेको उल्लेख गर्दै नेपाल र चीनबीच द्विपक्षीय लगानी सम्झौताको आवश्यकतामा जोड दिए । यस्तो सम्झौताले कानुनी र संस्थागत संरचनालाई बलियो बनाउने र चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रेरित गर्ने उनको भनाइ थियो ।
ऊर्जा, निर्माण, सूचना प्रविधि, पर्यटन, र कृषि प्रशोधनजस्ता क्षेत्रमा नेपालमा लगानीका राम्रो अवसरहरू रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले ग्वाङ्दोङ सरकारसँग ती क्षेत्रका सम्भावित लगानीकर्ता र संघसंस्थासँग जोडिन सहयोग गर्न आग्रह गरे । संयुक्त उद्यम, व्यापार भ्रमण र ज्ञान आदानप्रदान कार्यक्रमहरूमा सहकार्य गर्न महासंघ तयार रहेको उनले बताए । ग्वाङ्दोङ प्रान्तीय पार्टी समितिका स्थायी समिति सदस्य तथा युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री वाङ शीले नेपाल चीनबीच लामो आर्थिक, सामाजिक तथा सांस्कृतिक सम्बन्ध रहेको चर्चा गर्दै नेपालको आर्थिक विकासमा चीन सधैं सकारात्मक रहेको बताए ।
उनले चीनले प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा गरेको सफलतालाई नेपालको विकासमा साझेदारी गर्न आपूmहरू तयार रहेको बताए । ‘चीनले प्रविधि तथा नवप्रवर्धनका क्षेत्रमा धेरै काम गरेको छ । हाम्रो यो अनुभवबाट नेपालले पनि धेरै गर्न सक्छ । त्यो सहकार्यका लागि हामी तयार छौं’, उनले भने । मन्त्री वाङ शीले नेपालको खाद्य प्रशोधन, कृषि तथा पर्यटनमा सहकार्य गर्न सकिने बताउँदै नेपाल–ग्वाङ्दोङ आर्थिक सहकार्यको लागि आफूले पहल गर्ने बताए ।