रियो दि जेनेरियो । ब्राजिलमा चालू वर्षको मार्चदेखि मेसम्म बेरोजगारी दर घट्दै छ दशमलव दुई प्रतिशतमा पुगेको छ । ब्राजिलको भूगोल तथा तथ्यांक संस्थान (आईबीजिई) ले सार्वजनिक गरेनुसार यो बेरोजगारी दर दश वर्ष वर्ष यताकै सबैभन्दा कम हो ।
यो संस्थानका अनुसार, डिसेम्बर–फेब्रुअरीसम्मको अघिल्लो त्रैमासिक अवधिमा बेरोजगारी दर छ दशमलव आठ प्रतिशत थियो । हालको दर अघिल्लो अवधिको तुलनामा शून्य दशमलव छ प्रतिशत बिन्दुले कमी आएको हो । यस्तै, गत वर्षको यही अवधिमा सात दशमलव एक प्रतिशत रहेको दर अहिले शून्य दशमलव नौ प्रतिशत बिन्दुले घटेको देखिएको छ ।
उक्त त्रैमासिक अवधिमा करिब ६८ लाख व्यक्तिहरू बेरोजगार रहेको विवरण छ, जुन अघिल्लो त्रैमासिकको ७५ लाखभन्दा आठ दशमलव छ प्रतिशतले कम हो । यो घटबढको आधारमा करिब छ लाख ४४ हजार व्यक्तिहरूले रोजगारी प्राप्त गरेको देखिन्छ । त्यस्तै, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या करिब नौ लाख ५५ हजारले घटेको छ, जुन १२ दशमलव तीन प्रतिशतको गिरावट हो ।
आईबीजीईका विश्लेषक विलियम क्राटोकभिलका अनुसार, ‘बेरोजगारी दर घट्नुको प्रमुख कारण रोजगारी प्राप्त गर्ने व्यक्तिहरूको संख्या उल्लेख्यरूपमा बढ्नु हो । साथै, श्रमशक्तिको अपूर्ण उपयोग पनि घटेको पाइन्छ ।’
उनका अनुसार सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्याउने व्यक्तिहरूको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ । सर्वेक्षणको सन्दर्भ सप्ताहमा १४ वर्ष वा सोभन्दा माथिका छ करोड ८३ लाख नागरिकहरू कुनै न कुनै प्रकारको रोजगारीमा संलग्न थिए ।
‘यसले श्रम बजारको सुदृढीकरणलाई संकेत गर्दछ । औपचारिक रोजगारीमा आबद्ध तथा स्वरोजगारीमा रहेका धेरै व्यक्तिहरू नियमानुसार दर्ता भएका छन्, जसको फलस्वरूप पेन्सन प्रणालीमा योगदान पुर्याउने व्यक्तिको संख्या बढेको देखिन्छ’, विश्लेषक क्राटोकभिलले थप जानकारी दिए ।