काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले प्राविधिकरूपमा कठिन मानिने अडलट कारोबार घट्दै गएको बताएको छ । नेपालको धितोपत्र बजारमा सहज नमानिने अडलट करोबारमा ४८ दशमलव ५३ प्रतिशतले गिरावट आएको नेप्सेले जनाएको हो ।
नेप्सेका अनुसार चालू आर्थिक वर्ष (आव)को ११ महिनामा सेयर लगानीकर्ताले पाँच अर्ब ३७ करोड १४ लाख रुपैयाँ बराबरको एक करोड ३६ लाख ८५ हजार कित्ता सेयर अडलट कारोबार गरेका हुन् । जुन गत आवको सोही अवधिको तुलनामा पाँच अर्ब छ करोड ५३ लाख रुपैयाँले कम हो । गत आवको ११ महिनामा सेयर लगानीकर्ताले १० अर्ब ४३ करोड ६७ लाख रुपैयाँ बराबरको चार करोड २६ लाख ९६ हजार कित्ता सेयर अडलट कारोबार गरेका थिए ।
जेठमा मात्र १६ लाख ७८ हजार कित्ता सेयर ३३ करोड १९ लाख रुपैयाँमा कारोबार भएको छ । जुन गत वर्षको जेठको तुलनामा ६३ प्रतिशत बढी हो । गत वर्षको जेठमा २० करोड ५७ लाख रुपैयाँ बराबरको दुई लाख ८६ हजार कित्ता सेयर अडलट कारोबार भएको थियो ।
लगानीकर्ताहरूले आफुसँग १० कित्ताभन्दा कम धितोपत्र भएमा अडलटमा कारोबार गर्न सक्ने व्यवस्था छ । नेप्सेले २०७९ वैशाखदेखि हरेक दिन अडटल कारोबार गर्न सकिने व्यवस्था गरेको थियो । त्यसअघि धितोपत्र कारोबारमा अडलट सम्बन्धी व्यवस्था रहेपनि शुक्रवार मात्र कारोबार हुने गरेको थियो ।
धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ अनुसार लगानीकर्ताले आफूसँग एक सय रुपैयाँ अंकित मूल्य भएको १० कित्ताभन्दा कम धितोपत्र भएमा वा १० रुपैयाँ अंकित मूल्य भएको एक सय कित्ताभन्दा कम धितोपत्र भएमा अडलट कारोबार इकाइ हुने व्यवस्था छ ।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले सेयर बजारमा अडलट कारोबार सहज नभएकोले गर्दा कारोबारमा कमी आएको बताए । ‘अडलट कारोबारका लागि तथ्याङ्क अर्थात् मार्केट डेप्थमा तथ्याङ्क सार्वजनिक नहुँदा कारोबार गर्न कठिनाई भएको हो, तथ्याङ्क सार्वजनिक नहुँदा लगानीकर्तालाई समस्या भएको हो,’ उनले भने, ‘एक कित्तादेखि नौ कित्तासम्म बिक्री गर्नुपर्दा लगानीकर्ताले दोहोरो कमिसन तिनुपर्ने बाध्यता भएकाले पनि अडलट कारोबार घट्दै गएको हो, यसलाई नराम्रो भन्न सकिँदैन ।’
तथ्याङ्क नहुँदा अन्दाजको भरमा माग राखी खरिद बिक्री गर्नुपर्ने अवस्था रहेकाले समेत यो कारोबारलाई लगानीकर्ताले सहज मान्न नसकेको नेप्सेले जनाएको छ । अडलट कारोबारको तथ्याङ्क नेप्से इन्डेक्ससँग नजोडिने अर्थात् वास्तविक कारोबारमा गणना नहुने भएकाले पनि मार्केट डेप्थ समेत नदेखाउने गरिएको पाइन्छ । अडलट कारोबार गर्न समस्या हुँदा पनि केही लगानी भने गर्दै आएको लगानीकर्ता सम्पूर्ण शाक्यले बताए । शाक्यले विगत पाँच÷छ वर्षदेखि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) दोस्रो बजारका साथै अडलट कारोबार समेत गर्दै आएको बताए । अडलट कारोबार पनि आईपीओको दोस्रो बजारजस्तै लाग्ने हुँदा असहज नहुने उनको भनाइ छ ।