दोलखा । उन्नत जातको धानको बीउको बढ्दो प्रयोगले रैथाने धानको जात लोप हुँदै गएको छ । यहाँका किसानहरू बढी उत्पादन हुने भएपछि पछिल्लो समय स्थानीय रैथाने जातको धान रोप्न छाडेर उन्नत जातका धान रोप्न थालेका छन् ।
अधिकांश किसानले खेतमा पुरानो रैथाने सानो जिरा, विन्देश्वरी, तिल्की, मनसुली, मार्सी, सिम्ठारो, मनसुली, पोख्रेली, अट्टटे, रामसली, खुमल दशलगायतको धान रोप्न छाडेका हुन् । दोलखा धान उत्पादन तथा खेतीको हिसाबले मध्यम जिल्ला हो । जिल्लाको अधिकांश तल्लो क्षेत्रमा मुख्य बालीको रूपमा कृषकले धान लगाउने गरेका छन् । यहाँका किसानहरू हिजोआज पुरानो रैथाने जात छाडेर धेरै उत्पादनको आशमा हाइब्रिड जातअन्तर्गतको जीटी, शंकर, एचक्यु, सुपर चाइनिजलगायतको धान रोप्न थालेको वैतेश्वर गाउँपालिका कृषि प्राविधिक निरोज पाण्डेले बताए । रैथाने धान कम फल्ने र मेहनत धेरै गर्नुपर्ने भएपछि किसाहरूले उन्नत जातको धान लगाउन थालेको उनले सुनाए ।
यहाँका किसान कुमार घिमिरे केही वर्षअघिसम्म रैथाने धान खेती गर्ने गरेको भए पनि अहिले प्रायः सबै किसान रैथाने धानतर्फ आकर्षित बनेको बताउँछन् । ‘पहिले पोख्रेली धान पाथी बीउ रोपेपछि मुरी फल्ने गर्दथ्यो’, उनले भने, ‘तर अब पुराना धान खेती हुन छोड्यो, सबैले धेरै फल्ने नयाँ हाइब्रिड धान रोजेर लगाउँछन् ।’ नयाँ जात विकासले पुरानो रैथाने जात लोप भएको भन्दै केही कृषकले चिन्ता समेत गर्न थालेका छन् । अहिले विदेशी बीउको बढ्दो प्रयोगले स्थानीय जातको संरक्षणमा चासो नदिँदा भोलि अन्यत्रबाट आउने हाब्रिड बीउ न आए भोकमरी लाग्न सक्ने उनीहरूको चिन्ता छ ।
दोलखामा हालसम्म २८ प्रतिशत रोपाइँ
यस्तै, जिल्लामा हालसम्म मात्र २८ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि विकास कार्यालय रामेछापको तथ्याङ्कअनुसार दोलखामा २८ दशमलव आठ प्रतिशत रोपाइँ सकिएको हो । कार्यालयले दोलखामा दुई हजार आठ सय १४ हेक्टर क्षेत्रफलमा धान खेती हुने जनाएको छ ।
कार्यालयका अनुसार जिल्लाको भीमेश्वर नगरपालिकामा ३८ प्रतिशत रोपाइँ सकिएको छ भने जिरी नगरपालिकामा ४० प्रतिशत, बैतेश्वर गाउँपालिकामा ३५ प्रतिशत, मेलुङमा ३९ प्रतिशत रोपाइँ सकिएको छ । त्यसैगरी, बिगु गाउँपालिकामा ४२ प्रतिशत, कालिञ्चोकमा ४० र गौरीशंकर गाउँपालिकामा ४१ प्रतिशत रोपाइँ सकिएको कृषि विकास कार्यालय रामेछापका निमित्त कार्यालय प्रमुख डम्बर दाहालले जानकारी दिए ।