काठमाडौं । नेपाल बैंकर्स संघले हरित कर्जासम्बन्धी देशव्यापी बृहत् प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । बढ्दै गएको जलवायु परिवर्तनको प्रभावलाई कम गर्दै बैंकिङ क्षेत्रमा देखिएको जोखिमलाई न्यूनीकरण गरी बैंकिङ क्षेत्रलाई दिगो, उत्तरदायी र वातावरणमैत्री बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको संघले जानकारी दिएको छ ।
संघका अनुसार प्रशिक्षण कार्यक्रममा प्रदेशस्तरका बैंकिङ क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई हरित कर्जा विषयको सैद्धान्तिक र व्यावहारिक पक्ष, नेपाल राष्ट्र बैंकद्वारा जारी गरिएको निर्देशिकाको कार्यान्वयन र यसमा देखिएका चुनौतीका साथै नेपाल राष्ट्र बैंकले भर्खरै जारी गरेको ग्रीन फाइनान्स ट्याक्सोनोमीको अवधारणा, यसका सिद्धान्त, हरित परियोजनाहरू पहिचान र वर्गीकरणका बारे सहभागीहरूलाई जानकारी गराइएको थियो । त्यसका साथै, नेपालमा दिगो वित्त कार्यान्वयनमा देखा परेका चुनौतीहरू तथा त्यसले सिर्जना गरेको अवसरहरूबारे पनि कार्यक्रममा छलफल गरिएको थियो ।
देशव्यापीरूपमा नेपालको सातवटै प्रदेशमा सञ्चालन गरिएको उक्त प्रशिक्षण कार्यक्रमा तीन सयभन्दा बढी बैंकमा कार्यरत कर्मचारीहरू (प्रदेश प्रमुख, शाखा प्रबन्धक, क्रेडिट तथा जोखिम विभागका अधिकृतहरू) सहभागी भएका थिए । हरित कर्जा विषयमा दक्षता हासिल गरेका प्रशिक्षकहरूको नेतृत्वमा सञ्चालित कार्यक्रममा प्रशिक्षकले सहभागीहरूको दिगो वित्त विकाससम्बन्धी व्यावहारिक ज्ञानका साथै यससँग सम्बन्धित नीतिगत व्यवस्थाको विषयगत जानकारी गराएका थिए ।