काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले राष्ट्रिय धान दिवसको अवसरमा ‘धान खेती कर्जा’ सार्वजनिक गरेको छ । सरकारको आर्थिक वर्ष २०८२÷८३ को बजेट वक्तव्यमा मुलुकलाई आगामी दुई वर्षमा धानमा आत्मनिर्भर बनाउन लिएको रणनीतिलाई सहयोग पुर्याउने उद्देश्यले बैंकले धान खेती कर्जा सार्वजनिक गरेको जानकारी दिएको छ ।
यस योजनाअन्तर्गत कृषकले धानको बीउ, रासायनिक तथा जैविक मल, कृषि उपकरणहरू तथा अन्य आवश्यक कृषि सामग्रीहरू खरिद गर्न बैंकबाट २० लाख रुपैयाँसम्म कर्जा पाउनेछन् । खेतीयोग्य जमिनको सदुपयोग गर्न धान खेती गरी कृषकको आम्दानी बढाई कृषि पेसालाई मर्यादित र व्यावसायिक बनाई कृषकहरूलाई प्रोत्साहन गर्नको लागि यो कर्जा योजना सार्वजनिक गरिएको हो । साथै, राष्ट्रिय धान दिवसको अवसरमा बैंकले टोखा राधाकृष्ण मन्दिरनजिकै रहेको फाँटमा बैंकका कर्मचारी तथा स्थानीयको सहभागितामा धान रोपाइँ आयोजना गरेको छ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित बैंकका कर्मचारी तथा स्थानीयहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले नेपाल सरकारको रणनीतिअनुसार धानको उत्पादन वृद्धि गर्न, कृषिको आधुनिकीरण तथा व्यवसायीकरण गरी कृषकको मनोबल वृद्धि गर्न बैंकले यस प्रकारका कार्यक्रमहरू आयोजना गर्नेगरेको उल्लेख गरे । साथै, उनले बैंकले आजै सार्वजनिक गरेको धान खेती कर्जाले पनि कृषकहरूलाई धान खेती गर्न प्रोत्साहित गर्ने र धानको उत्पादन वृद्धिमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको तीन सय ५२ वटा शाखा कार्यालय, तीन सय ८५ वटा एटीएम, एक सय ५८ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजारभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिंदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।