काठमाडौं । महालक्ष्मी विकास बैंकले पूर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकका अनुसार आफ्ना ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम फोन–पेसँगको साझेदारीमा पूर्ण डिजिटल भर्चुअल त्रेडिट कार्ड सञ्चालनमा ल्याइएको हो ।
यसअन्तर्गत ग्राहकहरूले यस बैंकको मोबाइल बैंकिङ एप ‘महालक्ष्मी स्मार्ट साथी’भित्र महालक्ष्मी फोन–पे क्रेडिट कार्डमा गई कुनै पनि स्थानबाट सुरक्षित र सुविधाजनक तरिकाले फोन–पे क्यूआर मर्चेन्टमार्फत भुक्तानी गर्न तथा अनलाइनमार्फत गरिने किनमेलको भुक्तानी गर्न बैंकले जनाएको छ । भौतिक क्रेडिट कार्डमा रहेको ४५ दिनसम्मको ब्याजरहित अवधि तथा लचिलो किस्ताबन्दी सुविधा यस भुर्चुअल क्रेडिट कार्डमा समेत हुनेछ । यो सेवाअन्तर्गत हाल प्रचलनमा रहेको भौतिक त्रेडिट कार्डको आवाश्यकता नपर्ने भएकोले कार्ड बोकेर हिँड्नुपर्ने झन्झटको अन्त्य हुनेछ । सेवाको थालनीसँगै बैंकले भर्चुअल त्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूलाई पाँच सय रुपैयाँसम्मको विशेष नगद फिर्ता (क्यासब्याक)को अफर समेत ल्याएकोले ग्राहकहरूलाई अझ फाइदाजनक हुने दाबी पनि बैंकले गरेको छ ।
डिजिटल नवप्रर्वद्धनको क्षेत्रमा नेपालमा रहेको विकास बैंकहरूमा अग्रणी स्थानमा रहेको महालक्ष्मी विकास बैंक यो सेवाको सुरुवात गर्ने बैंकमा पहिलो विकास बैंक बनेको छ । यो सुविधा थप गरेसँगै बैंकको आफ्नो डिजिटल बैंकिङ सेवा थप ग्राहकमैत्री तथा प्रविधिकेन्द्रित हुने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकको नीतिबमोजिम बैंकले आगामी दिनमा मोबाइल एप्लिकेसनलाई अझै परिष्कृत तथा परिमार्जित गर्दै जाने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।