काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले साधारण सेयरको बिक्री आह्वान गरेको छ । कम्पनीले यही असार २२ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीका क्रममा रहेकाहरूको लागि साधारण सेयरको बिक्री आह्वान गरेको हो ।
कम्पनीका अनुसार पहिलो चरणमा कुल पाँच करोड ३६ लाख २९ हजार पाँच सय रुपैयाँबराबरको पाँच लाख लाख ३६ हजार दुई सय ९५ कित्ता साधारण सेयरको बिक्री आह्वान गरिएको हो । कम्पनीले गत असार १ गते प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरका १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको १८ लाख ९० हजार पाँच सय ३० कित्ता साधारण सेयर निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । सोमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरका तीन लाख ८५ हजार आठ सय २४ कित्ता आयोजना प्रभावित क्षेत्र अर्था संखुवासभा जिल्लाको मादी नगरपालिका वडा नं. ७, ८, ९ र चैनपुर नगरपालिका २, ३, ७, ८ र ९ मा स्थायी बसोबास गर्ने बासिन्दाका लागि र सर्वसाधारणका लागि छुट्याइएको १५ लाख चार हजार सात सय छ कित्ता सेयरमध्येको १० प्रतिशत अर्थात् एक सय रुपैयाँ अंकित दरका एक लाख ५० हजार चार सय ७१ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरूका लागि जारी गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले पनि न्यूनतम १० र अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि साधारण सेयरको निष्काशन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १९ गते हुनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्काशन बन्द साउन ४ गते हुनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।