काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको आगामी रणनीति र सङ्गठन सुदृढीकरण लगायतका १३ वटा विषयमा छलफल हुन लागेको छ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अहिले सानेपामा बसरिरहेको छ । बैठकमा गठबन्धन सरकारको काम, भ्रातृ संस्थाको अवस्था र पार्टीको सक्रिय सदस्यता वितरण, नवीकरण लगायतका विषयमा छलफल हुने हुनेछ । यस्तै, बैठकमा संघीय र प्रदेश सरकारमा सहभागी मन्त्रीहरूले आ–आफ्नो क्षेत्रको काम कारबाहीबारे केन्द्रीय कार्यसमितिलाई जानकारी गराउने बताइएको छ । गठबन्धन सरकारको प्रभावकारिता र भावी रणनीतिबारे पनि छलफल हुने प्रवक्ता डा महतले संचारमाध्यमहरुलाई बताएका छन् । बैठकले तोकिएको समयमा महाधिवेशन गर्न नसकेका भ्रातृ संस्थाको तदर्थ समितिको म्याद थप गर्ने वा नगर्ने विषयमा निर्णय लिने बताइएको छ । यस्तै, महामन्त्रीले पार्टीको सक्रिय सदस्यता वितरणको प्रगतिबारे बैठकमा जानकारी गराउने कार्यक्रमसमेत रहेको छ । गठबन्धन सरकारको कार्यप्रगति र भ्रातृ संस्थाको व्यवस्थापनले पार्टीको आन्तरिक एकता र बाह्य प्रभावकारितालाई थप मजबुत बनाउने अपेक्षा कांग्रेसले लिएको छ ।